२३ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ १ गते भित्र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिसक्ने बताएका छन् ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले अव १० दिन भित्रै प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिने बताएका हुन् ।
भदौ १ गते भित्र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री सहमत भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए । सो अवसरमा निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाका लागि निर्वाचन कानुन र निर्वाचन क्षेत्र निर्धारणको काम छिटो सक्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको थियो ।
आगामी माघ ७ गतेभित्र आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधान पूरा गर्न आयोगले सरकारलाई निर्वाचनको मिति घोषणा गर्ने काममा ढिलाई नगर्न पटक–पटक आग्रह गर्दै आएको छ ।