काठमाडौं, २५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेका राष्ट्रिय सभाका सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मनोनीत सदस्यहरु डा. युवराज खतिवडा, डा. विमला पौड्याल र रामनारायण बिडारीले आज पद तथा गोपनियताको शपथ लिएका हुन ।
राष्ट्रिय सभाकी जेष्ठ सदस्य तारादेवी भट्टले खतिवडा, पौड्याल र बिडारीलाई शपथग्रहण गराए । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले उनिहरु तीन जनालाई फागुन ८ गते मनोनीत गरेकामा सर्वोच्च अदालतले फागुन १३ गते शपथ नगराउन अन्तरिम आदेश दिएको थियो ।
तर सर्वोच्चले गत बुधबार अन्तरिम आदेश खारेज गरिदिएपछि राष्ट्रिय सभाका मनोनीत सदस्यहरुले आज शपथग्रहण गरेका हुन । शपथग्रहण गरेपनि खतिवडा, पौड्याल र बिडारीले फागुन २९ गतेको राष्ट्रपतिको निर्वाचनमा भने मतदान गर्न पाउनुहुने छैन ।
निर्वाचन कार्यालयले प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा नाम समावेश नगरेका कारण उनिहरुले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न नपाउनु हुने भएको हो ।