रुपन्देही, २४ फागुन । रुपन्देहीको देवदह नगरपालिकाका जनप्रतिनिधिले अनियमितता गरेको खुलासा भएको छ । देवदह नगरपालिकाका वडा नम्बर ११ मा सडक ग्राभेल गर्ने काममा जनप्रतिनिधिले ठगी गरेको स्थानीयले आरोप लगाएका हुन् ।
जिल्ला समन्वय समितिसँग १ लाख ५० हजार राजस्व बुझाएर लिएको २ हजार ६ सय घनमिटर मिस्कट वडा अध्यक्ष र उपभोक्ता समितिले प्रति ट्याक्टर ३ देखि ४ हजार रुपैयाँमा स्थनीयलाई बिक्री गरेको खुलासा भएको हो ।
वडा अध्यक्ष र उपभोक्ता समितिका अध्यक्षले गरेको अनियमितताबारे छानबिन गर्न स्थानीयले माग गरेका छन् । वडा अध्यक्ष अमरबहादुर चौधरीले भने अनियमितता नभएको दाबी गरे । उक्त वडामा करिब एक करोडको लागतमा सडक ग्राभेल गर्ने काम भइरहेको छ ।