काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकास र समृद्धिको नयाँ यात्रामा सत्तापक्ष र प्रतिपक्ष सबैलाई सहमति र समझदारीको भावना अनुसार अघि बढ्न आग्रह गरेका छन् ।
महाभुकम्पका समयमा आफुले तात्कालिन सरकारलाई पुर्याएको सहयोगको स्मरण गर्दै उनले अप्ठ्यारो परेका बेला सरकारलाई सहयोग गर्दै मुलुकलाई अघि बढाउने भुमिकामा प्रतिपक्षी दल हुनुपर्ने बताए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रतिपक्षी दललाई राष्ट्रिय सहमति र सहकार्यको भावना सहित सरकारलाई सहयोग गर्न आग्रह गरे । राजनीतिक स्थायीत्व, विकास र सम्वृद्धिको लडाई जित्नै पर्नै अवस्थामा रहेको भन्दै उनले राष्ट्र र जनताको निम्ति त्याग गर्न तयार छौ भन्ने संकल्प सबैले गर्न आवश्यक रहेको बताए ।
नेपालको इतिहासमा पछिल्लो चरणमा भएको परिर्वतनको श्रेय कुनै दल वा व्यक्ति विशेषको नरहेको तर्फ उनले सबैको ध्यानाकर्षण गराए । राष्ट्रिय सहमतिबाट मात्रै मुलुकमा ठूला ठूला राजनीतिक परिर्वतन भएको भन्दै उनले परिर्वतनको सफलताको श्रेय कुनै व्यक्ति विशेष वा दलको पोल्टामा नरहेको बताए ।
२०४६ साल पछिको सम्पुर्ण परिर्वतनमा आफ्नो पार्टी केन्द्रविन्दु र मध्यविन्दुमा परेको र अहिले संसदमा बोल्ने क्रममा पनि आफु मध्यविन्दु र केन्द्रविन्दुमा नै रहेको बताए ।