डेढ दिन बिराएर बिजुली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डेढ दिन बिराएर बिजुली

bijuli

बझाङ, २१ फागुन । एसईई नजिकै आइसक्दा जिल्लाका विद्यार्थीले बिजुली अभावमा पर्याप्त तयारी गर्न सकेका छैनन् । यहाँ डेढ दिन बिराएर बिजुली आउँछ, त्यो पनि जम्मा एक घन्टा । जयपृथ्वी नगरपालिका र आसपासका करिब ३ हजार घरधुरीलाई विद्युत सेवा उपलब्ध गराइरहेको सुर्मा देवी विद्युत प्रालीले एसइईको मुखैमा लोडसेडिङ अवधी बढाएर ३६ घन्टा पुर्‍याएको छ ।

विद्युतगृहमा पानीको मात्रा घटेर पर्याप्त विद्युत् उत्पादन हुन नसकेकाले लोडसेडिङ अवधि बढाइएको कम्पनीले जनाएको छ । ‘दिनकै २–३ सेन्टिमिटर पानी घटिरहेको छ,’ कर्मचारी सुरेन्द्रबहादुर सिंहले भने, ‘त्यसैले लोडसेडिङ अवधी अझै बढ्न सक्छ ।’

विद्युत प्राधिकरणको स्वामित्वमा रहेको २ सय किलोवाट बिजुली भाडामा लिएर संचालन गरिरहेको सुर्मादेवीले ३६ घन्टापछि लगातार ३ घण्टा विद्युत् दिने तालिका सार्वजनिक गरे पनि तोकिएअनुसार हुन नसकेको कर्मचारी स्विकार्छन् । ‘तिन घण्टा विद्युत आपुर्ति गर्ने सुचना निकालिए पनि पावरहाउस १ घण्टाभन्दा बढी चल्न सक्ने अवस्था छैन । पानी सकिएपछि एक घण्टा मात्र विद्युत नियमित गर्न सकिएको छ,’ सिंहले भने । २ सय किलोवाट क्षमताको आयोजनाबाट अहिले ६५ किलोवाट मात्र उत्पादन भइरहेको उनले बताए ।

विद्युत् सेवा बन्दजस्तै हुँदा सबैभन्दा बढी मार एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई परेको छ । विभिन्न विद्यालयका २ हजारभन्दा बढी विद्यार्थी अहिले जयपृथ्वी नगरपालिकामा डेरा बसेर ट्युसन पढिरहेका छन् । ‘बिजुली होला, ट्युसन पनि पढ्न पाइएला भनेर गाउँबाट आइयो तर यहाँ पनि अँध्यारै रहेछ, कसरी अध्ययन गर्ने हो ,’ कैलासका लोकराज सिंहले चिन्ता दर्साए, ‘परीक्षा हुन्जेल विद्युत बन्द नगरिदिए हुन्थ्यो ।’ विद्युत् नहुँदा कार्यालय, होटल, मासु पसल र दुग्ध व्यवसाय गर्नेहरू पनि मारमा छन् । मासु भण्डारण गर्ने व्यवस्था नहुँदा अधिकांस मासु पसल बन्द भएका छन् । दुधजन्य पदार्थ पनि भण्डारण गर्न नसकेर खेर फाल्नुपरेको स्थानिय डेरी संचालक कल्पना रोकायाले बताइन् ।

नगरपालिकाभित्रका ग्रिल उद्योग, कुटानी पिसानी मिल, फर्निचर उद्योग, बेकरी उद्योगको काम पनि एक महिनादेखि ठप्प छ । यातायात बन्द भएका कारण सदरमुकाममा मट्टीतेल, पेट्रोल, डिजेलकै अभाव छ । जेनेरेटर पनि चलाउन नपाउँदा उद्योग बन्द गर्नु परेको हो ।

२०४५ सालमा निर्मित यो आयोजना जापान सहयोग नियोगको अनुदानमा एक वर्षअघि मात्र मर्मत गरिएको थियो, ८५ करोड रुपैयाँ खर्चिएर । झन्डै ५ मेगावाट क्षमताको नयाँ आयोजना बनाउन पुग्ने रकम खर्चिइएको सुर्मादेवीले मर्मतको केही महिना नपुग्दै काम गर्न छाडेको हो । प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको डिजाइनमै त्रुटि फेला पारेको थियो । गत माघमा स्थलगत अनुगमनमा आएको प्राधिरकण टोलीले विद्युत नहरको इन्टेक डिजाइन र निर्माणमा भौगोलिक अवस्थाको अध्ययन नगरिएको निष्कर्ष निकालेको थियो । आजको कान्तिपुर दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);