काठमाडौँ, २० फागुन । दुई वर्षअघि तत्कालीन सञ्चारमन्त्री शेरधन राईको सिफारिसमा ‘हुलाक टिकट छाप्नैपर्ने’ सूचीमा पूर्वी नेपालका प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नाम समावेश गरियो । तालुकदार मन्त्रीको सिफारिसमाथि हुलाकका कसैले खोजीनीति गरेन । सिफारिसअनुरूप ‘सहिद रामकुमार राई’ का नाममा १० रुपैयाँ मूल्यका १० लाख हुलाक टिकट छाप्ने निर्णय भयो ।
कला अधिकृत पूर्णकला लिम्बूले छोटो अवधिमै टिकट–डिजाइन गरिन् । इन्डोनेसियाको सेक्युरिटी–प्रेसमा टिकट छाप्न सुरु भयो । करिब १ लाख ८० हजार प्रति टिकट छापिएपछि मात्रै थाहा भयो– रामप्रसाद राईलाई सरकारले सहिद घोषणा गरेकै रहेनछ । ‘त्यसपछि बाँकी टिकट छपाइको काम तुरुन्तै रोकिहाल्यौं,’ केन्द्रीय टिकट भण्डारका व्यवस्थापक नारायणप्रसाद पौड्यालले भने ।हाल प्रदेश १ का मुख्यमन्त्री तत्कालीन सञ्चारमन्त्रीराईको प्रस्तावमा योद्धा राईको टिकट त छापियो, तर टाँचा लाग्न सकेन । त्यो टिकट अहिले गोश्वारा हुलाकको भण्डारमा थन्क्याएर राखिएको छ । उसो त यिनै विद्रोही नेता राईको २०५५ सालमा पनि टिकट छापिएको थियो, ७५ पैसा मूल्यको ।
२०६२\ ६३ सालको आन्दोलन चल्दै गर्दा छापिएका नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका १० लाख प्रति टिकट पनि ‘राजकीय’ शब्दका कारण भण्डारमा थुप्रिएका छन् भने राजा वीरेन्द्र, मुमा बडामहारानी रत्न र राजा ज्ञानेन्द्रका व्यक्ति टिकटमाला पनि अनावश्यक आर्थिक व्ययभार बनेका छन् । विशेषतस् राजनीतिक परिवर्तन र सरकार हेरफेरसँगै प्रत्यक्ष असर देखिने टिकट छपाइको मामलामा सबभन्दा बढी ‘व्यक्तिमाला टिकट’ मा पर्ने रहेछ ।कांग्रेस सरकारका पालामा माओवादीबाट पीडित व्यक्ति, घटनामा टिकट निकाल्ने कुरा आउँछ भने माओवादी सरकारमा छँदा आफ्नै नेता वा क्रान्तिकारी पात्रको नाममा टिकट छाप्न पहल हुन्छ ।
गोश्वारा हुलाकका एक अधिकारीका अनुसार व्यक्तिगत टिकटमालाको प्रवृत्ति कस्तो भइदियो भने व्यक्तिले राज्यलाई गरेको योगदानभन्दा पनि राजनीतिक पहुँच र प्रभावमा बढी केन्द्रित देखिन्छ । ‘यस्तो पहुँच र प्रभावबाट टाढा बस्न हामीले टिकट प्रकाशन कार्यविधि बनाएका छौं । व्यक्तिमालाको टिकट निकाल्न, दबाब झेल्न र छनोट गर्न गाह्रो भएको अवस्थामा कार्यविधि बनेको हो,’ हुलाक सेवा विभागका कार्यवाहक महानिर्देशक राजन पौडेल भन्छन्, ‘कार्यविधिअनुसार कुल टिकट प्रकाशनको २० प्रतिशत मात्रै व्यक्तिमालाका टिकट छाप्न थालिएको छ ।’
हुलाक टिकट छपाइमा कहिलेकाहीँ व्यक्तिगत पहुँच र प्रभावले काम गरेको उनले बताए । जस्तो, यो पटक कूटनीतिज्ञ जयराज आचार्यले गरेको सिफारिसमा सरदार यदुनाथ खनालको टिकट निकाल्ने निर्णय भएको छ । कवि कलानिधि अधिकारी, इन्जिनियर कुलधर्मराम तुलाधर, समाजशास्त्री हर्षबहादुर बुढामगर, संगीतज्ञ अम्बर गुरुङ र पूर्वप्रधानमन्त्री सुशील कोइरालाको हुलाक टिकट निस्कँदै छ । यसमध्ये समाजशास्त्री बूढामगरको टिकट छाप्न उपराष्ट्रपति कार्यालयको बढी ‘सरोकार’ देखिएको थियो ।
यसअघि निर्णय भएर पनि ‘विवादमा परेका अथवा निर्णय पुरानो भएकाले’ विद्रोही नेता रामप्रसाद राई र पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको टिकट नछापिने भएको छ । महानिर्देशक पौडेल भन्छन्, ‘अधिकांशको इच्छा व्यक्तिकेन्द्रित टिकटमै हुन्छ ।’ विभागका अनुसार गत वर्ष मात्रै ९ करोड थान टिकट छाप्न झन्डै ५ करोड रुपैयाँ खर्च भएको थियो । यसबाट १ अर्ब ४० करोड रुपैयाँ राजस्व उठ्नुपर्ने हुन्छ ।
टिकट भण्डारका व्यवस्थापक पौड्यालका अनुसार झन्डै २० लाखप्रति हवाई पत्र पनि भण्डारका बाकसमा तालाबन्द गरेर राखिएको अवस्थामा छन् । ‘१० रुपैयाँ मूल्यका हवाईपत्र ६ लाख, ५० पैसा मूल्यका १० लाख, ७५ पैसाका ५ लाखजति हवाई पत्र तालाबन्द गरेर राखिएको छ,’पौड्याल भन्छन्, ‘सरकारी नियममा राजस्व दाखिला हुनुपर्ने उत्पादनलाई लिलाम गर्न पनि मिल्दैन, धुल्याउन पनि मिल्दैन ।’आजको कान्तिपुर दैनिकमा यस्तो खवर छ ।