मिर्गौला फेर्न 'नक्कली' नाता: डा. कल्पनाको यस्तो छ अनुभव | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

मिर्गौला फेर्न ‘नक्कली’ नाता: डा. कल्पनाको यस्तो छ अनुभव

kindney

भक्तपुर, २० फागुन । मिर्गौला प्रत्यारोपण गर्न नक्कली नाता प्रमाणपत्र बनाउने प्रवृत्ति बढेको छ । मिर्गौलादाता बिरामीका आफन्त हुनुपर्ने प्रावधान लत्याउँदै नक्कली नाता प्रमाणपत्र बनाउनेको संख्या बढेको हो ।

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नेफ्रोलोजी विभाग प्रमुख मिर्गौला रोग विशेषज्ञ डा कल्पना श्रेष्ठले बिरामीले नक्कली नाता प्रमाणपत्र ल्याउने गरेको बताइन् । विदेशको तुलनामा नातासम्बन्धमा धेरै फराकिलो व्यवस्था भए पनि बिरामीले नक्कली नाता प्रमाणपत्र बनाउने गरेको उनले बताइन् । ‘नेपालमा नातासम्बन्धमा धेरै फराकिलो व्यवस्था छ’, उनले भनिन्, ‘तर पनि नक्कली नाता प्रमाणपत्रको कागजात ल्याउने गरेका छन् ।’

मिर्गौला फेल भएका बिरामीलाई बचाउन सरकारले दान दिने बिरामीका आफन्तको दायरा फराकिलो बनाएको हो । जसअनुसार मिर्गौला दान दिने व्यक्ति कानुनअनुसार बिरामीको नाता पर्नुपर्छ । कानुनले तोकेबाहेकका व्यक्तिले दिएको मिर्गौला दानभन्दा पनि किनबेच मानिन्छ, जुन गैरकानुनी हो ।

तर, कानुनी कारबाहीबाट बच्न नक्कली कागजात ल्याउने गरेको मिर्गौला रोग विशेषज्ञ डा श्रेष्ठ बताउँछिन् । उनका अनुसार नक्कली कागजात बनाएर ल्याएको फेला परे प्रहरीको जिम्मा लगाउने चेतावनी दिएपछि भने नाताबाहिरका व्यक्तिहरू मिर्गौला दान गर्न हच्केको उनको अनुभव छ ।

‘नक्कली कागजात बनाएर मिर्गौला दान दिन आउने र मिर्गौला लिने बिरामीलाई प्रहरीको जिम्मा लगाउने भनेपछि केही व्यक्ति पछि हटेका छन्’, उनले भनिन् । केन्द्रमा आएर जाँच गराइसकेका बिरामीले नै नक्कली नाता प्रमाणपत्र लिएर आउने गरेको उनले सुनाइन् । ‘सुरुदेखि हामीले जाँचेका हुन्छौं । जाँचका क्रममा बिरामीका आफन्त को–को हुन्, सबै जानकारी भइसक्छ ।’आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

ताजा समाचार