भक्तपुर, १८ फागुन । भक्तपुर जिल्ला समन्वय समितिले जिल्लाको समग्र परियोजना संचालन गर्ने जिम्मेवारी दिन सरकारसँग माग गरेको छ । भक्तपुर जिल्ला समन्वय समितिका प्रवक्ता नवराज गेलालले अन्तर स्थानीय तहको सबै परियोजना संचालन गर्ने जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
शुक्रबार भक्तपुरका स्थानीय संचारकर्मीमाझ उहाँले स्थानीय तहको कर निश्चित प्रतिशत उठाउने अधिकार पनि जिल्ला समन्वय समितिलाई दिनुपर्ने बताए । स्थानीय तहको राजस्व र करको निश्चित प्रतिशत जिल्ला समन्वय समितिले पाउनुपर्ने उनको तर्क छ । प्रवक्ता गेलालले सबै स्थानीय तह जिल्ला समन्वय समितिको मातहत हुने भएकाले उनीहरुलाई अनुगमन गर्ने हक जिल्ला समन्वय समितिलाई हुने दाबी पनि गरेका छन् ।