श्याम गुप्ता
बारा, १७ फागुन । बारा जीतपुर सिमरा उपमहानगरपालिका पसाहा टोलका कृषकहरुको आम्दानीको स्रोत कोइला बनेको छ । जंगली झार बनमारा र कपुरीको बुट्यानबाट कोइला बनाउने गरिएको छ । तर कृषकहरुले उत्पादन गरेको काइलाको उपयुक्त मुल्य नपाएको गुनासो गरेका छन् ।
कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र बाराको प्राविधिक सहयोगमा पसाहाटोलका २ सय ६७ परिवारले कोइला उत्पादन सुरु गरेका हुन्।
जंगली झार बनमारा र कपुरीको बुट्यानबाट कोइला उत्पादन गरेर महिलाहरुले घर खर्च चलाउँदै आएका छन् । कोइला प्रति बोरा २ सय ४० रुपैयाँमा बिक्री हुने गरेको छ । धेरै दुख गरेर कोइला उत्पादन गरेपनि दुई बर्षदेखि मुल्य नबढेको उनीहरुकोे गुनासो छ ।
उता स्थानीय तहले विपन्न वर्गका महिलाहरुले फुर्सदका समयमा कोइला उत्पादन गरेर उदाहरणीय काम गरेको भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
उत्पादित कोइला अगरबत्ती उद्योग, बेकरी उद्योग तथा ब्रिकेट उत्पादकहरुले खरिद गर्ने गरेका छन् । वार्षिक १० देखी १७ सय मेट्रीकटन कोईला उत्पादन हुने गरेको छ । उत्पादन गरेको कोइलाको उपयुक्त मुल्य उपलब्ध गराउन कृषकहरुले माग गरेका छन् ।