प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा कार्यालयमा पत्रकार महासंघको धर्ना | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८३, आइतबार

प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा कार्यालयमा पत्रकार महासंघको धर्ना

काठमाडौँ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी कदमविरुद्ध नेपाल पत्रकार महासंघ मकवानपुरले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मकवानपुरस्थित कार्यालयमा धर्ना दिएको छ ।
महासंघले सञ्चालन गरिरहेको दोस्रो चरणको आन्दोलनअन्तर्गत आईतवार दिउँसो हेटौँडा उपमहानगरपालिका–४ स्थित रास्वपा कार्यालयमा एक घण्टा धर्ना दिएको हो । सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार देखिएको भन्दै महासंघको केन्द्रिय कार्यक्रमअनुसार धर्ना दिइएको हो । महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले दिउँसो १ बजेदेखि २ बजेसम्म धर्ना दिएको थियो । धर्नामा सहभागी पत्रकारहरूले ‘श्रमजीवी पत्रकारको श्रमको सम्मान गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘समाचारको स्रोतको सम्मान गर’, ‘पत्रकार पक्राउ गर्नेलाई कारबाही गर’ र ‘अध्यादेशबाट होइन, संसद्बाटै कानुन ल्याऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । धर्नाका क्रममा महासंघ मकवानपुरका अध्यक्ष अधिकारीले सरकारले संविधान र कानुनको सीमाभित्र रहेर शासन सञ्चालन गर्नुपर्ने बताउनु भयो । शासन व्यवस्था कुनै व्यक्तिको इच्छा र चाहनाअनुसार नभई विधि, पद्धति र कानूनअनुसार सञ्चालन हुनुपर्ने उहाँको भनाइ छ । लोकतान्त्रिक व्यवस्थामा जननिर्वाचित सरकारले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र विधिको शासनलाई आत्मसात् गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष अधिकारीले पत्रकारिताले विगतदेखि नै नागरिकका सवाल, सरोकार र सार्वजनिक महत्वका विषयलाई निरन्तर उठाउँदै आएको बताउनुभयो । निरंकुश शासन व्यवस्था होस् वा लोकतान्त्रिक प्रणाली, पत्रकारिता सधैँ समाजको महत्वपूर्ण क्षेत्रका रूपमा जीवित रहने उल्लेख गर्दै उहाँले लोकतन्त्रको जगमा उभिएर शासन सञ्चालन गर्ने सरकारले निरंकुश प्रवृत्ति देखाउन नहुनेमा जोड दिनुभयो ।
यता, रास्वपा मकवानपुरका सचिव विषभ अधिकारीले पार्टीले आफ्नो राजनीतिक दस्तावेजमै प्रेस स्वतन्त्रताको विषय समेटेको र संविधानले समेत प्रेस स्वतन्त्रताको हक सुनिश्चित गरेको बताउनु भयो । पत्रकारमाथिको धरपकड तथा सञ्चारमाध्यमको स्वतन्त्रतामाथि हुने हस्तक्षेप स्वीकार्य नहुने उहाँको भनाइ थियो । प्रेस स्वतन्त्रता लोकतन्त्रको प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै सचिव अधिकारीले रास्वपा लोकतान्त्रिक मूल्य, मान्यता र संविधानवादप्रति प्रतिवद्ध रहेको बताउनु भयो । पत्रकारमाथि भइरहेको धरपकडका विषयमा पार्टीका तर्फबाट सरकारसमक्ष आवाज उठाउने र यसबारे सरकारलाई जानकारी गराउने उहाँले प्रतिबद्धता जनाउनु भयो ।
सचिव अधिकारीले प्रेस स्वतन्त्रता लोकतन्त्रको वास्तविक अवस्था मापन गर्ने महत्वपूर्ण आधार भएको बताउनु भयो । राज्यका गतिविधिमाथि प्रश्न उठाउन, सरकारलाई जवाफदेही बनाउन र नागरिकलाई सुसूचित गर्न स्वतन्त्र प्रेसको भुमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । प्रेस स्वतन्त्रता कुनै एउटा राजनीतिक दल वा सरकारको अनुकूलतामा सीमित हुन नहुने उल्लेख गर्दै उहाँले रास्वपा सरकारमा हुँदा होस् वा प्रतिपक्षमा रहँदा, सधैँ प्रेस स्वतन्त्रताको पक्षमा उभिने बताउनु भयो । पत्रकारहरूले शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट आफ्ना माग तथा असन्तुष्टि प्रस्तुत गर्नु सकारात्मक भएको भन्दै उहाँले महासंघको आन्दोलन र मागप्रति पार्टी सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।
महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत मंसिर १४ गते नेपाली काँग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेको छ । त्यसैगरी, मंसिर २० गते काठमाडौंको माइतीघरलगायत काठमाडौँबाहिरका जिल्लाका सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।

Leave a Reply

ताजा समाचार