काठमाडौँ ।
वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले सरकारको विरोध गरेका छन् । सरकारले गत १२ र १३ बैशाखमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएर खाली गराएको थियो । घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोवासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजिएपछि उनीहरुले सरकारको निर्णयको विरोध गरेका छन् । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुम्बासी नागरिकले उचित व्यवस्थापनबिना आफूहरूलाई हटाउन खोजिएको भन्दै शुक्रवार रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन् । सरकारले शुक्रवार बिहानैदेखि खाना दिन छोडेको तथा आजैदेखि होल्डिङ सेन्टर छोडेर जान निर्देशन दिएको थियो । सुकुम्बासी नागरिक हरिमाया जिम्बाले आफूहरू थापाथलीबाट विस्थापित भएर बोडे आइपुगेको बताउनुभयो । उहाँका अनुसार कीर्तिपुरस्थित आश्रयस्थलमा करिब साढे दुई महिना बसेपछि डुबानका कारण उनीहरुलाई बोडे सारिएको थियो । अहिले बोडेमा रहेकामध्ये सात परिवारलाई मात्र वास्तविक सुकुम्बासी मानेर सरकारले अन्य सबैलाई हटाउन खोजेको आरोप लगाउनु भयो । उहाँले आफूहरू नेपाली नागरिक भएकाले सरकारले सम्मानपूर्वक बसोबासको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सरकारले वैकल्पिक बसोबासको व्यवस्थापन गर्न नसक्ने भए आफूहरुलाई थापाथलीमै छोडिदिनुपर्ने समेत उहाँको माग छ ।
अर्का सुकुम्बासी नागरिकले समेत आफूहरू लामो समयदेखि सुकुम्बासी बस्तीमा बस्दै आएको उल्लेख गर्दै सरकारले पुनःस्थापनाको प्रतिबद्धता पूरा नगरेसम्म होल्डिङ सेन्टरमा ननिस्किने बताउनु भयो । उहाँले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउँदा १५ दिनभित्र व्यवस्थापन गर्ने भने पनि ६ महिना बितिसक्दा समेत उचित व्यवस्था गर्न नसकेको उहाँको गुनासो छ ।त्यसैगरी अर्का सुकुम्बासी नागरिकले आफूहरुको अन्यत्र घरजग्गा नभएको र भाडामा बस्न सक्ने आर्थिक अवस्था पनि नरहेको बताउनु भयो । साना बालबालिका भएका परिवारलाई कोठा पाउनसमेत कठिनाइ भइरहेको भन्दै उहाँले सरकारले नै उचित व्यवस्थापन गरिदिनुपर्ने उहाँको माग छ ।सरकारले बोडेस्थितको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासी परिवारलाई शुक्रवार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर छोड्न अल्टिमेटम दिएको थियो । त्यसपछि उनीहरूलाई खाना समेत बन्द गरिएको छ । खाना नै बन्द गरिदिएपछि उनीहरू दिउँसो चाउचाउ–चिउरा खाएर भोक मेटिरहेका थिए ।–




