काठमाडौँ ।
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक मुद्दा भन्दा ठूलो रहेको बताउनुभएको छ ।बिहीवार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले फोहोरको मुद्दा समयमै व्यवस्थापन गरी नेपाललाई सफा बनाउने अभियानमा सबै लाग्नुपर्ने बताउनु भयो । महानगरपालिकाले अघि सारेको तीन कार्यक्रममध्ये काठमाडौंलाई रिचार्ज गर्ने र फोहोरबाट बायोग्यास निकाल्ने काम पूरा भएको बताउनु भयो । काठमाडौंको फोहोरबाट १४ किलोवाट विद्युत उत्पादन हुने अनुमान गरिएको भएपनि अहिले उपकरण बिग्रिएकाले केही समय सम्भव नरहेको बताउनु भयो । तर विद्युत उत्पादनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई उपकरण बनाउने काममा लाग्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले फोहोरबाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने नजिर काठमाडौंमा महानगरले देखाएपछि अन्य पालिकाहरुलाई पनि उत्पादन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले सिसडोलको फोहोरलाई अब दैनिक तीन हजार किलो हटाउने गरी काम शुरु गर्ने योजना बनाएको जानकारी दिनुभयो । महानगरले आगामी दिनमा एक किलो फोहोर पनि अन्यत्र लगेर फाल्न नपर्ने गरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले एलपिजी मुक्त स्थानीय सरकार भन्ने सरकारको उद्देश्यलाई यो कामले पूरा गर्ने बताउनु भयो । यसका लागि नीतिगत अस्पष्टता रहेको भएपनि आवश्यक छलफल र समन्वय गरेर अघि बढ्ने जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले अन्तर स्थानीय सरकारसँग पनि समन्वय गरेर अघि बढ्न काठमाडौं महानगरपालिकालाई आग्रह गर्नुभयो । उहाँले सरकार महानगरको यो कदमलाई सहयोग गर्न सधैँ तयार रहेको बताउनु भयो ।




