मध्यपूर्वमा शान्ति र सुरक्षाका लागि चार देशबीच वार्ताको नयाँ अध्याय | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १० २०८३, मंगलबार

मध्यपूर्वमा शान्ति र सुरक्षाका लागि चार देशबीच वार्ताको नयाँ अध्याय

 

क्षेत्रीय सुरक्षा र स्थायित्वलाई सुदृढ पार्ने उद्देश्यले इरान, साउदी अरेबिया, पाकिस्तान र टर्कीका उच्च अधिकारीहरूबीच तेहरानमा पहिलो पटक ऐतिहासिक बैठक सम्पन्न भएको छ । सोमवार सम्पन्न उक्त बैठकमा सहभागी राष्ट्रहरूले क्षेत्रीय शान्ति प्रवद्र्धनका लागि निरन्तर संवाद र सहकार्यलाई जारी राख्ने प्रतिवद्धता जनाएका छन् । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईको निमन्त्रणामा आयोजित उक्त बैठकमा साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान बिन अब्दुलअजिज अल साउद, पाकिस्तानी सेनाका प्रमुख जनरल सैयद असिम मुनिर र टर्कीको राष्ट्रिय गुप्तचर संगठनका निर्देशक इब्राहिम कालिन सहभागी थिए । चारै देशका प्रतिनिधिहरूले क्षेत्रीय सुरक्षाका जटिलताहरूलाई सम्बोधन गर्न सामूहिक सहकार्य आवश्यक रहेको कुरामा जोड दिएका छन् ।
बैठकपश्चात जारी विज्ञप्तिमा सहभागी राष्ट्रहरूले शान्ति र विकासका लागि साझा मञ्चमार्फत संवादको प्रक्रियालाई अगाडि बढाउने सहमति व्यक्त गरेका छन् । यस संवादले विशेष गरी गत अगस्ट ७ मा हस्ताक्षरित ‘मक्का संयुक्त रक्षा सम्झौता’ को भावनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । उक्त सम्झौतामा कुनै एक सदस्य राष्ट्रमाथि हुने आक्रमणलाई सम्पूर्ण सदस्यमाथिको आक्रमण मानिने प्रावधान रहेको छ ।
यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले उच्चस्तरीय टोलीसँगको भेटमा क्षेत्रीय एकता र ऐक्यबद्धताको आवश्यकता औँल्याउनु भयो । राष्ट्रपति पेजेस्कियानले अमेरिकी सहयोगमा इजरायलले पश्चिम एशियामा गरिरहेको हिंसा र अपराधले क्षेत्रीय शान्ति खलबल्याएको आरोप लगाउँदै मुस्लिम राष्ट्रहरूलाई शतर्क रहन आग्रह गर्नुभयो । उहाँले इरानले आणविक हतियारको विकास नचाहेको र अन्तर्राष्ट्रिय दायराभित्र रहेर आफ्नो आणविक कार्यक्रम जारी राख्ने पुनः दोहो¥याउनु भयो । कुटनीतिक विश्लेषकहरूका अनुसार यो बैठकले मध्यपूर्वको बदलिँदो भू–राजनीतिक परिवेशमा नयाँ समीकरणको संकेत गरेको छ । शक्ति राष्ट्रहरूबीचको यो संवादले क्षेत्रीय द्वन्द्व न्युनिकरणमा कस्तो प्रभाव पार्छ, त्यो आगामी दिनका कूटनीतिक गतिविधिले निर्धारण गर्नेछ ।

Leave a Reply

ताजा समाचार