काठमाडौं ।
कात्तिकको कलिलो घामसँगै पोखरा ११ फूलबारीको आँगनबाट उत्तरतर्फ हेर्दा प्रकृतिको अनुपम वरदान छर्लङ्ग देखिन्छ । तल हरियालीले भरिएको बस्ती र सुन्तले कस्मसका फूल, माथि नीलो आकाशमा चाँदीझैँ टल्किएका अन्नपूर्ण, हिउँचुली र अजेय कुमारी शिखर माछापुछ्रे । यो केवल ६ वटा तस्बिर मात्र होइन, पोख्रेली बिहानीको एउटा जीवन्त फोटो कथा हो । बिहानीपख पोखरा–११, फूलबारीको अग्लो काखबाट उत्तरतर्फ हेर्दा यो अलौकिक दृश्य देखियो । अगाडि बारीको डिलमा फूलेका कस्मस र सयपत्रीका पहेँला–सुन्तला फूलहरूले चिसो सिरेटोलाई न्यानो स्वागत गरिरहेका छन् । तल हरिया केराका झाङ, टिन र स्लेटका परम्परागत छानो भएका घरहरू र पर क्षितिजमा अन्नपूर्णदेखि लमजुङ हिमालसम्मको अनन्त हिमपर्खाल–यो केवल तस्बिर होइन, पोख्रेली बिहानीको सास हो । अगाडिको चहकिलो फूलहरूको उज्यालो र पछाडिको चिसो नीलो हिमालको अद्भुत रङ्ग–सन्तुलन । क्यामेराको लेन्स जुम गर्दा ६,९९३ मिटर अग्लो माछापुछ्रेको चट्टानी शरीरमा जमेको हिउँको बनावट छर्लङ्ग देखिन्छ । कालो चट्टान, ठाडा खोल्साहरू र बिहानी घामले कोरेको छायाँले हिमाललाई जीवन्त मूर्तिकला जस्तै बनाएको छ । दायाँतर्फ अन्नपूर्ण चौथो र दोस्रोको विशाल काँध हिउँको चादर ओढेर उभिएको छ । यो हिमाललाई स्थानीय जनताले भगवान शिवको पावन आसन मान्ने भएकाले यहाँ कसैलाई पनि आरोहण गर्ने अनुमति छैन । मनसुन सकिएपछिको कात्तिक महिनामा पोखराको हावापानी सबैभन्दा कञ्चन हुन्छ । न धुलो, न कुहिरो, न तुवाँलो । तल हरिया वनजङ्गलले ढाकेका काहुँ र अर्मलाका पहाडहरू तह–तह भएर बसेका छन् भने माथि नीलो आकाशमा चाँदीको पत्र जस्तै हिमाल टाँसिएको भान हुन्छ । यस्तो स्वच्छता वर्षमा केही हप्ता मात्र अनुभव गर्न पाइन्छ । तह–तहका हरिया डाँडाहरूको गहिराइ जसले दर्शकको नजरलाई सिधै सेतो शिखरमा पु¥याउँछ । फूल क्षणिक छ–केही दिनमा ओइलाउनेछ तर हिमाल युगौँदेखि अटल छ । तरपनि यो बिहान दुवै एकअर्काको सौन्दर्यलाई पूर्ण बनाइरहेका छन् । फूलबारीको नाम नै फूलहरूको बगैँचाबाट रहन गएको यथार्थ यस तस्बिरले पुष्टि गर्दछ । फूलबारीका आधुनिक र परम्परागत घरहरू, छतमा राखिएका पानीका ट्याङ्की, हरिया रूखहरू र बिजुलीका पोलहरू–यी सबै दैनिक जीवनका प्रतीक हुन् । पोखरा ११ का बासिन्दाका लागि माछापुछ्रे कुनै टाढाको पर्यटकीय स्थल मात्र होइन, यो त हरेक बिहान चियाको चुस्कीसँगै आँखामा ठोकिने जीवनसाथी हो। प्रकृतिको यो अनुपम उपहारले फूलबारीलाई सधैं ऊर्जावान र शान्त बनाएको छ ।




