विश्वव्यापी भू–राजनीतिक तनाव र आपूर्ति श्रृङ्खलामा देखिएका अवरोधका माझ अफ्रिकी महादेशमा सस्तो तथा प्रचुर ऊर्जा आपूर्ति सुनिश्चित गर्नका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको निष्कर्षसहित मंगलवार दक्षिण अफ्रिकाको केप टाउनमा ‘अफ्रिकन इनर्जी विक (एइडब्लू) २०२६’ औपचारिक रूपमा शुरु भएको छ । केप टाउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित भव्य उद्घाटन समारोहलाई सम्बोधन गर्दै दक्षिण अफ्रिकाकी खनिज तथा पेट्रोलियम स्रोत राज्यमन्त्री फुमजिले म्गसिनाले वर्तमान अन्तर्राष्ट्रिय परिवेशले थप एकीकृत, लचिलो र आत्मनिर्भर अफ्रिकी ऊर्जा प्रणालीको माग गरेको बताउनु भयो । विश्व बजारमा देखिएका पछिल्ला उतारचढावले इन्धनको मूल्य वृद्धि र नागरिकको जीवनयापन लागत बढाएको उल्लेख गर्दै म्गसिनाले यस चुनौतीलाई सामना गर्न निर्णायक नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले कुनैपनि अफ्रिकी मुलुक एक्लैले दिगो ऊर्जा सुरक्षा हासिल गर्न नसक्ने स्पष्ट पार्दै ऊर्जा बजार, पूर्वाधार र स्रोतहरू अन्तरसम्बन्धित भएकाले अन्तर–महादेशीय व्यापार र आपूर्ति विविधीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा सेनेगलका ऊर्जा तथा पेट्रोलियम मन्त्री एल हाद्जी अब्दुरहमाने दिउफले अफ्रिकाले आफ्नै मौलिक ऊर्जा ढाँचा विकास गर्न पाउनुपर्ने माग गर्नुभयो । पर्याप्त र दिगो ऊर्जाको पहुँचबिना अफ्रिकाको आर्थिक रूपान्तरण असम्भव रहेको बताउँदै उहाँले महादेशीय स्तरमा अन्तरसम्बन्धित प्रणालीको विकासमा ढिलाइ गर्न नहुने धारणा व्यक्त गर्नुभयो । ‘इन्भेस्ट इन अफ्रिकन इनर्जीजः एफोर्डेबल एन्ड अबन्डेन्ट इनर्जी एडिसन्स’ भन्ने मूल नाराका साथ सोमबारदेखि शुक्रबारसम्म चल्ने यस सम्मेलनमा ३०० भन्दा बढी मन्त्री तथा उच्च अधिकारीहरू, ४०० भन्दा बढी वक्ताहरू, १५ सय कम्पनी र १० हजारभन्दा बढी विश्वव्यापी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
This website uses cookies.