चीनको मध्यक्षेत्रस्थित हेनान प्रान्तमा लोपोन्मुख सूचीमा रहेको दुर्लभ ‘क्रेस्टेड आइबिस’ प्रजातिका ६ वटा चराहरूलाई सफलतापूर्वक प्राकृतिक बासस्थानमा छाडिएको छ । आवश्यक पुनर्वास तथा बाँच्ने तालिम (रिवाइल्डिङ) सम्पन्न भएपछि दोङझाई राष्ट्रिय प्रकृति संरक्षण क्षेत्रबाट मङ्गलवार ती चराहरूलाई खुला जङ्गलमा मुक्त गरिएको हो । निकुञ्ज प्रशासनकाअनुसार प्राकृतिक वातावरणमै आफैं आहारा खोज्न, बाँच्न र वंशवृद्धि गर्नसक्ने अवस्थामा पुगेको सुनिश्चित भएपछि मात्र यी चराहरूलाई प्राकृतिक परिवेशमा पठाइएको हो । लामो समयको हेरचाह र कृत्रिम संरक्षणपछि दिइएको विशेष तालिमले चराहरूलाई जङ्गली परिवेशमा घुलमिल हुन र प्राकृतिक चुनौतीहरूको सामना गर्न सक्षम बनाएको छ । कुनै समय पृथ्वीबाटै लोप हुने गम्भीर जोखिममा पुगेको ‘क्रेस्टेड आइबिस’ लाई चीन सरकारले राष्ट्रिय स्तरको ‘प्रथम श्रेणी’ को संरक्षित वन्यजन्तुका रूपमा सूचीकृत गरेको छ । जैविक विविधताको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिने यस चराको संरक्षणका लागि चीनले दशकौंदेखि विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । हेनान प्रान्तस्थित दोङझाई राष्ट्रिय प्रकृति संरक्षण क्षेत्र दुर्लभ पक्षीहरूको संरक्षण र वंशवृद्धिका लागि प्रमुख केन्द्र मानिन्छ । यस संरक्षण केन्द्रले हालसम्म नियन्त्रित वातावरण (क्याप्टिभ ब्रिडिङ) मा ३०० भन्दा बढी क्रेस्टेड आइबिसको सफल प्रजनन गराइसकेको छ । केन्द्रकाअनुसार मङ्गलवार छाडिएका ६ वटासहित हालसम्म कुल १३९ वटा क्रेस्टेड आइबिसलाई प्राकृतिक जङ्गलमा पुनःस्थापित गरिसकिएको छ । यस्ता प्रयासहरूले गर्दा लोपोन्मुख चराहरूको सङ्ख्या प्राकृतिक बासस्थानमै वृद्धि हुँदै गएको र यसले समग्र पर्यावरणीय सन्तुलनमा सकारात्मक योगदान पु¥याएको संरक्षणकर्मीहरूको ठहर छ ।




