काठमाडौँ ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिताको व्यावसायिक क्षमता विकास गर्नुपर्ने बताउनुभएको छ । शनिवार समूहको २९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष वन्तले प्रविधि र अधिकारका नयाँ चुनौतीहरूको सामना गर्न संस्था थप सबल र आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको हो । संस्थाको २९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष वन्तले आफ्नो कार्यकालको तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्ने र त्यसका लागि क्षमता विकासमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले फोटो पत्रकारहरूले केवल तस्बिर खिच्ने काममा मात्र नभई संस्थागत नेतृत्व र व्यावसायिक सिपमा पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनु भयो । वन्तले वर्तमान फोटो पत्रकारिता क्षेत्रले भोग्नुपरेका मुख्य चुनौतीहरूमा एआई (कृत्रिम बौद्धिकता) प्रविधि र प्रतिलिपि अधिकार (कपिराइट) रहेको बताउनु भयो ।
उहाँले नेपालको प्रचलित कानुनमा फोटो पत्रकारिताको प्रतिलिपि अधिकारलाई गम्भीरतापूर्वक नलिइएकोमा गुनासो गर्नुभयो । संस्थालाई वाह्य सहयोगको भरमा नभई आफ्नै स्रोत र साधनमा आत्मनिर्भर (सस्टेनेबल) बनाएर अघि बढाउनुपर्नेमा समेत जोड दिनुभयो । नयाँ पुस्तालाई नेतृत्वका लागि तयार पार्नु आफ्नो प्रमुख दायित्व रहेको बताउँदै वन्तले फोटो पत्रकारहरूको हकहितका लागि संस्थागत बहस र छलफललाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।




