काठमाडौँ ।
नेपाली काँग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र अझैपनि महिलाहरुको अर्थपूर्ण सहभागिता हुन नसकेको बताउनुभएको छ । काँग्रेसको १५ औँ महाधिवेशनमा महिला तर्फबाट महामन्त्री पदमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको शुद्धीकरणसँगै महिलासहित सबै समावेशी समूहको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताउनु भयो । पार्टीले संविधानमा स्वीकार गरेको समावेशी सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको उहाँको भनाई छ । काँग्रेसले लिएको समावेशी सिद्धान्तलाई पार्टीको संगठनमा समेत प्रत्याभूत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सबै समूह र विचारलाई समेट्ने पार्टी निर्माण आफ्नो मुख्य प्रतिबद्धता रहेको उहाँको भनाई छ ।उहाँले देशभरबाट आएको माग र आवश्यकता सम्बोधन गर्न कांग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको बताउनु भयो । यस सन्दर्भमा पार्टीभित्र भने आलोचना भइरहेको उहाँको भनाई छ । यदपी अन्य राजनीतिक पार्टीको तुलनामा भने अझै पनि काँग्रेसको संख्या कम रहेको उहाँको दाबी छ । ठूलो संख्याको केन्द्रिय समितिले प्रभावकारी रूपमा काम गरेर पार्टी निर्माणमा परिणाम दिनसके त्यसप्रतिको विरोध अन्त्य हुने उहाँले बताउनु भयो ।उपाध्याय १४ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित हुनभएको थियो । यसअघि सहमहामन्त्री भएर काम गरिसकेकोले अहिले महामन्त्री पदमा आफ्नो दाबी स्वभाविक रहेको उहाँको भनाई छ ।




