काठमाडौं ।
दाङकी एक बालिकामा एचपीभी खोप लगाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ । बिहीवारको संसद बैठकमा नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले दाङको घोराहीकी १२ वर्षीया बालिका आयशा परबिनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारसँग क्षतिपूर्ति र उपचारको माग गर्नुभएको हो । सांसद सिद्दिकीले सदनमा जानकारी गराएअनुसार कक्षा ६ मा अध्ययनरत बालिकालाई एचपीभी खोप लगाइएलगत्तै स्वास्थ्यमा जटिलता देखिएको थियो । खोपपश्चात गम्भीर बिरामी परेकी बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ दिनसम्म भेन्टिलेटरसहितको आइसियुमा उपचार गरिएको थियो । हाल उनी घर फर्किए पनि उनका हातखुट्टा चल्न नसक्ने अवस्थामा रहेको सांसद सिद्दिकीले बताउनु भयो ।
उहाँले स्वास्थ्य मन्त्रालयलाई उक्त घटनाको छानबिन गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति र उपचारको व्यवस्था मिलाउन जोडदार माग गर्नुभएको छ । यसैगरी, सांसद सिद्दिकीले रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकहरूको खोजतलासको अवस्थाबारे पनि सरकारसँग जवाफ माग गर्नुभयो । उहाँले तथ्यांक प्रश्तुत गर्दै बेपत्ताहरूको अवस्था अझै स्पष्ट नहुनु दुःखद् रहेको बताउनु भयो । उहाँले मुलुकको समग्र महंगी, नागरिकले भोग्नुपरेको आर्थिक संकट र आत्महत्याका बढ्दो घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले देशको जिम्मेवार अभिभावकका रूपमा सरकारले ठोस योजनासहित नागरिकलाई जवाफ दिनुपर्ने बताउनु भयो ।





