काठमाडौँ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले रसुवा बाढीबाट क्षतिग्रस्त सडक तथ पुलहरुको पुनर्निमाण गर्न अधिकारसम्पन्न ‘फास्ट ट्र्याक’ संयन्त्र गठन गर्न माग गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीबाट सडक तथा पुल क्षतिग्रस्च हुँदा प्रभावित जिल्लाहरुको आन्तरिक तथा बाह्य सम्पर्क नै टुटेको उल्लेख गर्नुभयो । उहाँले विपद्पछिको पुनर्निमाणमा विद्यमान प्रशासनिक तथा कानूनी प्रक्रियाका कारण ढिलाई हुनेभन्दै ‘फास्ट ट्र्याक’ संयन्त्र गठन गर्नुपर्ने बताउनु भयो ।
पुनर्निर्माणका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण प्रधानमन्त्रीको कार्यालय वा कानून मन्त्रालय मातहत रहने गरी संयन्त्र निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले बाढी प्रभावित नागरिकको सुरक्षित आवास तथा अन्य आधारभूत आवश्यकता पुरा गर्ने सन्दर्भमा सरकार गम्भीर हुनुपर्ने पनि बताउनु भयो । सांसद अधिकारीले बाढी प्रभावित क्षेत्रका व्यवसायीहरुको कर्जाको संरचनामा समेत पुनरावलोकन गर्न माग गर्नुभयो ।




