काठमाडौँ ।
नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले विश्वमा शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो इच्छा र शर्त लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा महान ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करण पुस्तक विमोचन समारोहमा बोल्दै पन्तले नेपाल र चीनका जनता बुद्धका विचार र भावनाबाट प्रभावित रहेको उल्लेख गर्नुभएको हो । उहाँले नेपाली समाजमा विभिन्न धर्म मान्ने भएपनि भगवान बुद्धप्रति विशेष सद्भाव, आस्था र विश्वास रहेको बताउनु भयो । बुद्धका विचारले शान्ति, सहअस्तित्व र आपसी सम्मानको सन्देश दिने उहाँको भनाइ छ । पन्तले हालै भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले व्यक्त गरेको विचार ग्लोबल साउथका देशहरूका लागि महत्वपूर्ण रहेको बताउनु भयो । सी चिनफिङको भनाइ उद्धृत गर्दै पन्तले बलियाको नै जित हुनुपर्छ भन्ने तर्क स्वीकार्य नहुने बताउनु भयो । विश्वमा शक्तिशाली देशले आफूले भनेको नमान्ने साना देशमाथि आक्रमण गर्ने तथा दबाब सिर्जना गर्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ ।
उहाँले विश्वमा अहिले व्यापार तथा ट्यारिफ युद्ध चलिरहेको उल्लेख गर्दै शक्ति र प्रभावका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउनु भयो । पन्तले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्लेटफर्मलगायत प्रविधिको प्रयोगका विषयमा समेत विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनु भयो । विश्वमा कुनै एक देश वा शक्तिको हैकम चल्ने अवस्था स्वीकार गर्न नहुने उहाँको भनाइ छ । उहाँले ग्लोवल साउथका देशहरूले समानता, आपसी सम्मान र सहकार्यमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको पक्षमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।




