काठमाडौँ ।
राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ । समितिको बिहीवार बसरको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको हो । विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमिति समेत गठन गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिनुभयो । समितिको प्रतिवेदन प्रतिनिधिसभाको आजै बस्ने बैठकमा पेश गर्ने उहाँले बताउनु भयो । प्रतिवेदनलाई अन्तिम रुप दिन उहाँले समिति सचिवलाई निर्देशन दिनुभयो । समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारी हेरफेर गरेको छ । समितिले दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई २०८३ भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम जिम्मेवारी हेरफेर गरिएको समितिले जनाएको छ ।




