काठमाडौं, १४ फागुन । २२ हजारमाध्ये झण्डै चार हजार कर्मचारीले सरकारले ल्याएको स्वेच्छिक अवकाश योजना रोजेका छन् । संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीका लागि सरकारले स्वेच्छिक अवकाशको योजना ल्याएको थियो ।
योजनामा आवेदन दिने अन्तिम दिन फागनु १३ गतेसम्म तीन हजार सात सय ४८ जनाले निवेदन दिएका सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५० वर्ष उमेर र २० वर्ष सेवा अवधि पुगेका कर्मचारीको संख्या २२ हजार ३ सय छ । ७० देखि ८० प्रतिशत कर्मचारीले स्वेच्छिक अवकाश रोज्ने मन्त्रालयको अनुमान गरे पनी १७ प्रतिशतले मात्रै स्वेच्छिक अवकाश रोजेका हुन् ।
स्वेच्छिक अवकाश रोज्नेमा तीन जना सचिव पनि रहेका छन् । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला र संसद सचिवालयका सचिवहरु हिमलाल सुवेदी र वीरेन्द्र कार्कीले स्वेच्छिक अवकाश रोजेका हुन् । त्यस्तै १४ सहसचिब पनि अबकासमा जाने भएका छन । अवकाशका लागि उपल्लो र मध्यम तहका कर्मचारीको आवेदन कम परेकाले व्यायभार तुलनात्मक रुपमा कम पर्ने देखिएको छ ।