काठमाडौँ । नेपाली काँग्रेसले विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न गर्न सभामुभको ध्यानाकर्षण गराएको छ ।
मंगलवार नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर ध्यानकर्षण गराउनुभएको हो । उहाँले विपद्पछिको राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गरेको बताउनु भयो । विपद् व्यवस्थापनमा राज्यका सबै निकाय र राजनीतिक दलको समन्वय आवश्यक रहेकोले संसदीय समितिमार्फत सरकारका कामको अनुगमन र समन्वय गर्नुपर्ने उहाँको भनाई छ । उहाँकाअनुसार विपद् आएको १७–१८ दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाइएको संसदीय उच्चस्तरीय समिति गठनको विषय कार्यान्वयनमा आउन सकेको छैन । राहत व्यवस्थापनदेखि पुनःस्थापनासम्मका कामलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन समिति आवश्यक रहेको उहाँको भनाई छ । उहाँले संसदीय समिति गठन गर्नु सरकारको विपक्षमा उभिनु नभएको पनि प्रष्ट पार्नुभयो । सरकारलाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउन संसदीय निगरानी आवश्यक रहेको उहाँको भनाई छ । विपद्बाट प्रभावित बालबालिका, सुत्केरी महिला तथा अन्य पीडितको अवस्था, सुरक्षित पुनःस्थापना र राहतका लागि प्राप्त सहयोगको सदुपयोगबारे समितिले अनुगमन गर्ने उहाँले बताउनु भयो ।
उहाँले प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई पनि तत्काल सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । संसदको नियमावली र कार्यतालिकाअनुसार प्रश्नोत्तर कार्यक्रम संसद र कार्यकारीबीच प्रत्यक्ष संवादको महत्वपूर्ण माध्यम भएकाले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अतिआवश्यक रहेको उहाँको भनाई छ । उहाँकाअनुसार सभामुख यस विषयमा सकारात्मक रहेको र प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम चाँडै सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएको बताउनु भयो । सभामुखसँगको भेटमा उहाँले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिकाबारे पनि सभामुखलाई जानकारी गराएको बताउनुभयो । कांग्रेसको वडा अधिवेशन ३ र ४ गते, प्रदेश तथा क्षेत्रीय अधिवेशन १० गते र केन्द्रिय महाधिवेशन १६ देखि १९ गतेसम्म हुने जानकारी सभामुखलाई गराइएको उहाँको भनाई छ ।




