स्वास्थ्य/शिक्षा

डिजिटल युगमा पढ्ने बानी,पुस्तक र डिजिटल पढाइबीचको अन्तर

कविना बलामी,काठमाडौँ । नेपालमा पनि पछिल्लो समय डिजिटल प्रविधिको पहुँच विस्तार हुँदै जाँदा विद्यार्थी, युवा तथा आमनागरिकले विभिन्न सामग्री डिजिटल माध्यमबाट पढ्ने गरेका छन्। समयअनुसार प्रविधिको प्रयोग बढ्नु सकारात्मक पक्ष भए पनि यसले पुस्तक पढ्ने संस्कृतिमा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा भने बहस हुन थालेको छ ।

प्रविधिको तीव्र विकाससँगै मानिसको दैनिक जीवनशैलीमा मात्र होइन, पढ्ने र अध्ययन गर्ने बानीमा समेत ठूलो परिवर्तन आएको छ । केही समयअघिसम्म अध्ययन तथा सूचना प्राप्त गर्ने प्रमुख माध्यमका रूपमा पुस्तक, पत्रपत्रिका र पुस्तकालयलाई लिइन्थ्यो । डिजिटल माध्यमको विस्तारले पढ्न चाहने व्यक्तिका लागि सूचना तथा सामग्री प्राप्त गर्न निकै सहज बनाएको छ । तथापि डिजिटल माध्यमबाट सामग्री प्राप्त गर्न सहज हुँदैमा त्यसबाट प्राप्त हुने सबै जानकारी सही र विश्वसनीय हुन्छ भन्ने हुँदैन। इन्टरनेटमा प्रमाणित स्रोतसँगै गलत, अपूर्ण र भ्रामक सूचना पनि फैलिने गरेका छन्। सामाजिक सञ्जालमा कुनै सामग्री धेरै पटक साझा भएको आधारमा मात्र त्यसलाई सत्य मान्न सकिँदैन। त्यसैले डिजिटल माध्यमबाट पढ्दा पाठक आफैँ पनि सचेत हुनुपर्ने आवश्यकता छ । सामग्री कुन स्रोतबाट आएको हो, त्यसको लेखक वा संस्था को हो र जानकारी प्रमाणित छ कि छैन भन्ने विषयमा ध्यान दिन आवश्यक हुन्छ । विशेषगरी शैक्षिक तथा अनुसन्धानका लागि प्रयोग गरिने सामग्रीमा स्रोतको विश्वसनीयता अझ महत्वपूर्ण हुन्छ । त्यसैले डिजिटल माध्यमको विकास भए पनि पुस्तकलाई पुरानो वा अनावश्यक माध्यमका रूपमा हेर्नु उचित हुँदैन भनेर केन्द्रीय पुस्तकालयका प्रमुखले व्यक्त गर्नुभयो ।

डिजिटल पढाइसँगै पुस्तक पढ्ने बानीमा भने परिवर्तन आएको देखिन्छ । डिजिटल माध्यमले छिटो सूचना प्राप्त गर्ने सुविधा दिन्छ भने पुस्तकले पाठकलाई एउटै विषयमा लामो समय केन्द्रित भएर अध्ययन गर्ने वातावरण दिन्छडिजिटल माध्यमले तत्काल सूचना प्राप्त गर्न निकै सहज बनाएको भए पनि गहिरो अध्ययनका लागि पुस्तकको महत्व अझै कायम छ। अहिलेको समयमा धेरै डिजिटल डिभाइसहरू उपलब्ध भएका छन् र ती उपकरणमार्फत तुरुन्तै समाचार तथा विभिन्न सामग्री प्राप्त गर्न सकिन्छ । तर अध्ययनका लागि आवश्यक, विस्तृत र भरपर्दो सामग्रीका लागि पुस्तक अझै पनि उपयुक्त माध्यम बन्न सक्छ। उनका अनुसार प्रविधिको प्रयोगलाई अस्वीकार गर्नुभन्दा पनि आवश्यकताअनुसार डिजिटल माध्यम र पुस्तक दुवैको प्रयोग गर्नु प्रभावकारी हुन्छ।

डिजिटल युगमा पढ्ने बानी परिवर्तन हुनु स्वाभाविक प्रक्रिया हो। प्रविधिले पढ्न र सूचना प्राप्त गर्न सहज बनाएको छ, तर त्यसले पुस्तकको महत्वलाई पूर्ण रूपमा समाप्त गरेको छैन। डिजिटल माध्यमले गति र पहुँच दिएको छ भने पुस्तकले गहिराइ, एकाग्रता र व्यवस्थित अध्ययनको अवसर दिएको छ । त्यसैले अहिलेको पुस्ताले पुस्तक पढ्ने बानीलाई निरन्तरता दिँदै डिजिटल प्रविधिको पनि सही र जिम्मेवार प्रयोग गर्न आवश्यक छ । पुस्तक पढ्ने बानी छोडेर पूर्ण रूपमा डिजिटलमा निर्भर हुने होइन, बरु पुस्तक र डिजिटल दुवै माध्यमको उचित संयोजनबाट ज्ञान हासिल गर्नु नै आजको डिजिटल युगको आवश्यकता हो ।

Related Post
Share

This website uses cookies.