काठमाडौँ ।
वैदिक सनातन हिन्दु नेपाली महिलाको प्रमुख पर्व हरितालिका तिज आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ ।भाद्र शुक्ल तृतीयाका दिन मनाइने तिजका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा अन्य भक्तजनहरू पूजा तथा आराधनाका लागि लामवद्ध भएका छन् । रातो पहिरनमा सजिएका महिलाहरूको उपस्थितिले पशुपति परिसरमा तिजको विशेष रौनक देखिएको छ । तिजका दिन महिलाहरू भगवान शिवको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि तथा पारिवारिक कल्याणको कामना गर्ने परम्परा छ । तिज दिन व्रत बस्नाले राम्रो श्रीमान पाउने, श्रीमानको आयु, आरोग्य र ऐश्वर्य प्राप्त हुने जनविश्वास रही आएको छ ।




