काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशलाई थप द्वन्द्व र विद्रोहमा धकेल्ने नभई सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेको भन्दै उहाँले अब राजादेखि सबै राजनीतिक शक्तिसम्मलाई समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउनुभएको हो । आईतवार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले देशले १० वर्षे द्वन्द्वपछि गत वर्षको भदौ २३ र २४ गतेको विद्रोह तथा त्यसबाट भएको ठूलो क्षतिसमेत व्यहोरिसकेको भन्दै अब थप द्वन्द्व र विद्रोह धान्नसक्ने अवस्थामा नरहेको बताउनु भयो । उहाँले कुनै समय राजाले राजनीतिक दललाई र कुनै समय राजनीतिक दलहरूले राजालाई निषेध गरेको उल्लेख गर्दै निषेधको राजनीतिले मुलुकलाई कहाँ पु¥यायो भन्नेकुरा सबैले बुझिसकेको बताउनु भयो ।
अब त्यस्तो राजनीति त्यागेर राष्ट्रिय सहमतिको माध्यमबाट देशलाई निकास दिनुपर्ने उहाँको भनाइ छ । लिङदेनले राष्ट्रिय सहमति कायम गरी देशमा शान्ति र स्थिरता स्थापना गर्नुपर्ने तथा आगामी ५ देखि १० वर्षभित्र नेपाललाई विकसित मुलुकको दाँजोमा पु¥याउने अभियानमा सबै राजनीतिक दल र शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । राष्ट्रिय एकता र सहमतिको पक्षमा आफूहरूले आवाज उठाइरहेकाले त्यसलाई विश्वसनीय बनाउन राप्रपा आफैँ बलियो र एकतावद्ध हुनुपर्नेमा पनि लिङदेनले जोड दिनुभयो । पार्टी कमजोर र विभाजित भएमा अरू राजनीतिक शक्ति र जनताले राप्रपामाथि विश्वास नगर्ने उहाँले बताउनु भयो ।
उहाँले पार्टीभित्र एकता कायम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै विगतमा संगठन निर्माणका क्रममा अपनाइएका रणनीति र कार्यशैलीमा भएका कमजोरी सच्याउनुपर्ने बताउनु भयो । आफूबाटै सुधार शुरु गर्नुपर्ने भन्दै उहाँले नेतृत्वदेखि तल्लो तहसम्मका सबै नेता–कार्यकर्ता सच्चिएर नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताउनु भयो । लिङदेनले आगामी महाधिवेशनबाट राप्रपा सुध्रिएको र बदलिएको सन्देश आम जनतामाझ पु¥याउनुपर्ने बताउनु भयो ।





