राजनीति

बाढी प्रभावित क्षेत्रमा ‘एकद्वार प्रणाली’ ले महिला र बालबालिकाका समस्या ओझेलमा परेः प्रमुख सचेतक थापा

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले बाढी प्रभावित क्षेत्रमा लागू गरिएको ‘एकद्वार प्रणाली’ का कारण महिला र बालबालिकाका विशेष आवश्यकता र अधिकारका विषयहरू ओझेलमा परेको बताउनुभएको छ ।
सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित बाढीपहिरो विपद् व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै प्रमुख सचेतक थापाले हालैको स्थलगत अनुगमनका क्रममा राहत र उद्धार कार्यमा केही सकारात्मक प्रयास देखिए पनि वितरण प्रक्रियामा भने गम्भीर त्रुटी पाइएको उल्लेख गर्नुभएको हो । उहाँकाअनुसार स्थानीय र प्रदेश सरकारको समन्वयमा उद्धार र राहतका कार्यहरू भइरहेको भएपनि स्वास्थ्य र सरसफाइ जस्ता संवेदनशील विषयमा ध्यान पुग्न सकेको छैन । थापाले बालबालिकाको पोषण र स्वास्थ्यका बारेमा पनि चिन्ता व्यक्त गर्नुभयो । पौष्टिक आहारको अभावमा बालबालिकाहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्ने भन्दै उहाँले आमा र शिशुको विशेष हेरचाहका लागि ठोस कदम चाल्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले स्थलगत भ्रमणका क्रममा महिला र बालबालिकाको अवस्था निकै कष्टकर देख्यौँ । विशेषगरी महिलाहरूका लागि आवश्यक पर्ने स्यानिटरी प्याड र हाइजिन किटको अभाव छ । केन्द्रबाट पठाइएका सामग्रीहरू एक ठाउँमा थुप्रिएका (डम्पिङ) छन्, तर प्रभावित महिलासम्म पुग्न सकेका छैनन् ।’
एकद्वार प्रणालीको जटिलताका कारण विशेषज्ञ निकायहरूले काम गर्न नपाएको भन्दै उहाँले स्वास्थ्य, महिला अधिकार र बाल संरक्षणको क्षेत्रमा कार्यरत संस्थाहरूलाई प्रभावित क्षेत्रमा सहज रूपमा कार्य गर्ने वातावरण मिलाइदिन पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनु भयो । रेडक्रस लगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने निकायहरूलाई कार्यक्षेत्रमा खुल्ला पहुँच दिनुपर्ने उहाँको माग छ ।

Related Post
Share

This website uses cookies.