तान्जानियामा २,११५ मेगावाट क्षमताको जुलियस न्यरेरे जलविद्युत आयोजनाको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

तान्जानियामा २,११५ मेगावाट क्षमताको जुलियस न्यरेरे जलविद्युत आयोजनाको उद्घाटन

तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले २,११५ मेगावाट क्षमताको बहुप्रतिक्षित जुलियस न्यरेरे जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गर्नुभएको छ । तटीय क्षेत्रको रुफिजी जिल्लामा अवस्थित यस आयोजनाले मुलुकको विद्युत आपूर्तिलाई सुदृढ बनाउँदै औद्योगिक र आर्थिक विकासलाई तिब्रता दिने अपेक्षा गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति हसनले यस आयोजनाबाट उत्पादित विद्युत्ले उत्पादनमूलक उद्योग, व्यापार, खानी, आधुनिक कृषि, सार्वजनिक सेवा, लगानी र रोजगारीका क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
चिनियाँ कम्पनीहरू ‘पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना’ (पावर चाइना) र ‘डोङफ्याङ इलेक्ट्रिक कर्पोरेसन’ को सहयोगमा यो आयोजना निर्माण गरिएको हो । पावर चाइनाका आयोजना प्रवन्धक झाङ रुईकाअनुसार उक्त कम्पनीले मुख्य बाँध, जल प्रवाह प्रणाली (वाटर कन्भेयन्स सिस्टम), डाइभर्सन टनेल, धातुका संरचनाहरू र समग्र इन्जिनियरिङ डिजाइनको जिम्मेवारी सम्हालेको थियो ।
त्यसैगरी, डोङफ्याङ इलेक्ट्रिकका आयोजना प्रबन्धक तान जिनले कम्पनीले नौवटा हाइड्रो–टर्बाइन जेनेरेटर युनिट, मुख्य इनलेट भल्भ र अन्य इलेक्ट्रोमेकानिकल उपकरणहरूको आपूर्ति, जडान र परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिनुभयो ।
आयोजना निर्माणको चरणमा करिब १४ हजार स्थानीय बासिन्दाले रोजगारी पाएका थिए । चिनियाँ इन्जिनियरहरूले हजारौं तान्जानियाली नागरिकलाई वेल्डिङ, स्टिल फिक्सिङ, सिकर्मी काम, भारी मेसिनरी सञ्चालन र सर्भेक्षण जस्ता क्षेत्रमा व्यावसायिक तालिम प्रदान गरी स्थानीय जनशक्तिलाई दक्ष बनाएको दुवै प्रवन्धकहरूले उल्लेख गरेका छन् ।
युनिभर्सिटी अफ दार एस सलामका अर्थशास्त्रका प्राध्यापक हम्फ्रे मोशीकाअनुसार यो आयोजनाले पूर्वी अफ्रिकाको क्षेत्रीय ऊर्जा बजारमा तान्जानियाको भूमिकालाई थप सशक्त बनाउनेछ । यसले क्षेत्रीय कनेक्टिभिटी र समग्र सामाजिक–आर्थिक विकासका लागि भरपर्दो ऊर्जा सहयोग उपलब्ध गराउने उहाँको विश्लेषण छ ।

Leave a Reply