काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान रक्षा, लोकतन्त्रको सुदृढीकरण र मौलिक संस्कृतिको जगेर्नाका लागि आफ्नो पार्टी अविचलित रूपमा अगाडि बढ्ने बताउनुभएको छ ।
झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले देशमा व्याप्त गलत क्रियाकलापको प्रतिवाद गर्न सबै नेपाली नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । यो देश नेपालीहरूको भएकाले यसलाई सही बाटोमा डो¥याउनु सबैको दायित्व भएको बताउनु भयो । मुलुकमा शान्ति स्थापना, लोकतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि एमालेले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताउनु भयो । गत निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई स्वाभाविक रूपमा लिँदै अध्यक्ष ओलीले हारबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो । चुनावमा नराम्रोसँग हार व्यहोरेका तर हारपछि मैदान छोडेर भाग्ने एमालेको प्रवृत्ति नभएको बताउनु भयो । एकपटक पछारिँदैमा अखडा छोडेर भाग्नेले कुस्ती खेल्न नसक्ने र जुरुक्क उठेर पुनः चुनौतीको सामना गर्ने नै विजयी हुने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘सबै बौरिनु जरुरी छ । गलत क्रियाकलापको प्रतिवाद गर्न जरुरी छ । यो देश हाम्रो देश हो, नेपालीहरूको देश हो । तर देशलाई गलत बाटोमा लैजान कसैलाई पनि छुट छैन । देशलाई सही बाटोमा अघि बढाउनुपर्छ, शान्ति र लोकतन्त्र फर्काउनुपर्छ, संविधानको रक्षा गर्नुपर्छ । हाम्रो संस्कार, सभ्यता र संस्कृति जोगाउँदै देशलाई अगाडि बढाउने काम नेकपा एमालेले गर्नुपर्छ । हामी चुनाव हा¥यौं, नराम्रोसँग हा¥यौं, तर चुनाव हार्दैमा मैदान छोडेर भाग्ने पार्टी नेकपा एमाले होइन । कुस्तीमा एकपटक पछारिँदैमा अखडा छोडेर भागिँदैन, जुरुक्क उठेर फेरि सामना गर्नुपर्छ । नेकपा एमाले पनि त्यही गर्छ । यो भगौडा पार्टी होइन, परिस्थितिको सामना गर्ने, चुनौतीसँग जुध्ने र निरन्तर अगाडि बढ्ने पार्टी हो ।’
एमाले कुनैपनि चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सक्षम रहेको दाबी गर्दै उहाँले पार्टी भगौडा नभई परिस्थितिसँग जुधेर अगाडि बढ्ने शक्ति भएको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले देशको सभ्यता, संस्कार र संस्कृतिलाई फर्काउँदै मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने जिम्मेवारी नेकपा एमालेको काँधमा रहेको समेत स्पष्ट पार्नुभयो ।




