काठमाडौँ । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा शनिवार भएका दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । लेबनानी राष्ट्रपति जोसेफ आउनले यस आक्रमणले हाल जारी वार्ता प्रक्रियामा बाधा पु¥याउने स्पष्ट सन्देश दिएको बताउनुभएको छ । लेबनानी सञ्चारमाध्यम ‘अल–जदिद टेलिभिजन’काअनुसार नबातिह जिल्लाको ‘देर अल जाहरानी’ सहरमा रहेको एक दुई तले भवनलाई लक्षित गरी गरिएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । स्थानीय प्रत्यक्षदर्शी मोहम्मद फकिहका अनुसार उक्त विस्फोटका कारण घरहरूमा ठूलो क्षति पुगेको छ । त्यसैगरी, नबातिह जिल्लाकै ‘अन्सार’ सहरमा भएको अर्को इजरायली हवाई हमलामा सात जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मारिनेहरूमा तीन बालबालिका र दुई महिला रहेका छन् । स्थानीय बासिन्दा अब्बास खलिलकाअनुसार बिहान सबेरै ४ः३० बजे हवाई जहाजको आवाजसँगै ठूलो विस्फोट भएको थियो, जसमा एकै परिवारका सदस्यहरूले ज्यान गुमाएका छन् । नबातिह र आसपासका गाउँहरूमा इजरायलले हवाई हमला र भारी गोलाबारी तिब्र पारेपछि सयौँ स्थानीय बासिन्दाहरू असुरक्षाका कारण दक्षिणी शहर सिदोनतर्फ पलायन भइरहेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यो आक्रमण यस्तो समयमा भएको छ जब लेबनान र इजरायलबीच संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा दीर्घकालीन सुरक्षा सम्झौता र शान्ति प्रक्रियाका लागि छलफल भइरहेको छ । दुवै पक्षले यसै महिनाको शुरुमा इटालीको रोममा सातौँ चरणको वार्ता सम्पन्न गरेका थिए र आगामी सेप्टेम्बरको शुरुमा पुनः वार्तामा बस्ने तयारीमा रहेका थिए । यस घटनाले जारी शान्ति प्रयासमा थप चुनौती थपेको विश्लेषण गरिएको छ ।




