सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुशील खड्काले वन्यजन्तु नियन्त्रण तथा किसानको उत्पादन संरक्षणका स्थानीय तहमा ‘वन्यजन्तु हेरालु’ कार्यक्रम सञ्चालन गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले जंगली जनावर बाँदरले किसानलाई सास्ती दिएको भन्दै सरकारले व्यवसायिक रुपमा हेरालु नियुक्त गर्नुपर्ने उहाँको माग छ । वन्यजन्तु नियन्त्रणको उपाय खोजिरहँदा हजारौँ नेपाली युवा रोजगारीका लागि खाडी मुलुकमा कठिन परिस्थितिमा काम गर्न बाध्य उल्लेख गर्दै उहाँले स्वदेशमै रोजगारी र कृषि उपजको संरक्षणका लागि देशभरका स्थानीय तहमा हेरालु नियुक्त गर्नुपर्ने बताउनु भयो । उहाँले बाग्लुङ, म्याग्दी र पर्वतमा गत वर्ष मात्रै एक अर्ब रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको उल्लेख गर्दै कृषि उत्पादनको संरक्षणका लागि आम्दानीको सानो हिस्सा छुट्याएर उत्पादन हुने वडामा कम्तीमा १० जना वन्यजन्तु हेरालु परिचालन गर्न सकिने बताउनु भयो ।
सांसद खड्काले यस्तो मोडल देशभर लागू गर्न सके कम्तीमा पाँच लाख नयाँ हरित रोजगारी सिर्जना हुनुका साथै राज्यले एक खर्ब रुपैयाँभन्दा बढीको आर्थिक लाभ लिन सक्ने दाबी पनि गर्नुभयो ।





