सुदूरपश्चिमका रास्वपा सांसद र प्रधानमन्त्रीबीच भेटवार्ताः विकास आयोजना र संसदीय गतिविधिका विषयमा छलफल | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

सुदूरपश्चिमका रास्वपा सांसद र प्रधानमन्त्रीबीच भेटवार्ताः विकास आयोजना र संसदीय गतिविधिका विषयमा छलफल

काठमाडौँ ।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्रीसँग भेटघाट गरी प्रदेशको विकास, सुशासन र समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
सिंहदरबारमा भएको उक्त सामूहिक भेटवार्तामा सुदूरपश्चिम प्रदेशका विद्यमान समस्या, सरकारका गतिविधि र भविष्यको रणनीतिका विषयमा कुराकानी भएको हो । भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिलाई संसद्मार्फत जनतासम्म पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । छलफलका क्रममा सांसदहरूले सुदूरपश्चिमको भौतिक पूर्वाधार र सामाजिक विकासका मुद्दाहरूलाई प्रमुखताका साथ उठाएका थिए । विशेषगरी गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई यथाशीघ्र सञ्चालनमा ल्याई मुलुककै शैक्षिक ‘हब’ बनाउनुपर्नेमा उनीहरूले जोड दिए ।

यस्तै, कैलालीको चिसापानीदेखि महेन्द्रनगरसम्म व्याप्त छाडा चौपायाको समस्या समाधान, धनगढी–खुटिया–दिपायल फास्ट ट्रयाक निर्माण, पश्चिम सेती जलविद्युत् आयोजना र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयनका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो । सांसद केपी खनालकाअनुसार भेटमा किसानका लागि मलको उपलब्धता, विद्युतीकरण, सडक दुर्घटना न्युनिकरण, नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण र हुलाकी सडक जस्ता जनसरोकारका विषयमा समेत विस्तृत छलफल भएको थियो । सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका जनताका गुनासो र आवश्यकताका आधारमा प्रधानमन्त्री कार्यालय र सम्बन्धित मन्त्रालयबाट आवश्यक पहल हुनुपर्ने माग राखेका थिए । संसदीय गतिविधिका सन्दर्भमा प्रधानमन्त्रीले सांसदहरूलाई सदनमा संयमित भएर प्रश्तुत हुन र प्रतिपक्षले उठाएका विषयको जिम्मेवारीपूर्वक जवाफ दिन आग्रह गर्नुभएको थियो। ।

सांसद हरिमोहन भण्डारीले प्रधानमन्त्रीलाई सदनमा नियमित उपस्थित भई सार्वजनिक महत्त्वका विषयमा सम्बोधन गर्न आग्रह गरिएको जानकारी दिनुभयो । सो क्रममा प्रधानमन्त्रीले समय अभावका कारण कतिपय अवस्थामा उपस्थित हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा सदनमा उपस्थित भई सांसदहरूका प्रश्नको सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । भेटघाटमा रास्वपाका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोईराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

ताजा समाचार