काठमाडौं, ११ फागुन । पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा माओवादी केन्द्रबाट निष्काशित नेता गोपाल किराँतीले कारबाहीबारे कडा शब्दमा प्रतिक्रिया दिएका छन् ।
माओवादी केन्द्र पुनर्गठन समितीको संयोजकको रुपमा विज्ञप्ती जारी गर्दै नेता किराँतीले आफूमाथि गरिएको कारबाहीलाई ‘क्रान्तिविरुद्धको कदम’ भनेका छन् । माओवादी केन्द्रलाई ‘पुष्पकमल दाहाल एण्ड कम्पनी’को संज्ञा दिँदै नेता किराँतीले माओवादको विज्ञान र पहिचान मुद्दामाथि कारबाही गरिएको प्रतिक्रिया दिए ।
माओवादी केन्द्र पुनर्गठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन कारबाही गर्नु विनाशको संकेत भएको उनको टिप्पणी छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालसहितका शीर्ष नेताहरु एमालेकरण भइसकेको भन्दै उनले प्रतिक्रान्तिकारी हर्कत विरुद्ध विरोधको झण्डा उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका सदस्यहरुलाई आव्हान गरेका छन् ।
बिहीबार बसेको माओवादी बैठकले एकता विरोधी क्रियाकलाप गरेको भन्दै किराँती, विश्वभक्त दुलाल र लोकेन्द्र विष्टलाई पार्टीबाट निस्कासन गरेको थियो ।