काठमाडौँ । जनकपुरधाममा पछिल्लो समय उत्पन्न तनावपूर्ण परिस्थितिलाई मत्थर पारी सामाजिक सद्भाव र एकता कायम गर्ने उद्देश्यले एक वृहत् सद्भाव र्याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालय, धनुषाको अगुवाईमा आयोजित उक्त ¥यालीमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ । जनकपुरधामस्थित रेल्वे स्टेसनबाट प्रारम्भ भएको र्यालीले नगरका विभिन्न मुख्य चोकहरूको परिक्रमा गरेको थियो । सुनसरीमा भएको दुई समुदायबीचको झडपपछि उत्पन्न तनाव र स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) का बीच नागरिकहरूमा शान्तिको सन्देश प्रवाह गर्न यो कार्यक्रम आयोजना गरिएको हो । र्यालीमा सहभागीहरूले ‘सामाजिक एकता कायम गरौं’ र ‘शान्ति तथा सद्भाव कायम गरौं’ जस्ता नाराहरू लगाएका थिए । सद्भाव र्यालीमा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू, सरकारी कर्मचारी, विभिन्न धर्मका अगुवा, नागरिक समाजका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सद्भाव र्यालीमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधामको पहिचान नै विभिन्न जातजाति र समुदायबीचको अटुट सद्भाव रहेको उल्लेख गर्नुभयो । ऐतिहासिक विरासतलाई जोगाउनु सबैको कर्तव्य भएको बताउनु भयो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले मिथिला संस्कृतिले सधैं शान्ति र भाइचाराको सन्देश दिने बताउनु भयो । उहाँले मिथिलाको गौरवशाली संस्कृति र मर्यादालाई आत्मसात गर्दै शान्ति र सद्भाव कायम राख्न आम नागरिकमा अपिल समेत गर्नुभयो ।जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले नेपालमा भएका ठूला राजनीतिक र सामाजिक परिवर्तनहरू शान्तिपूर्ण आन्दोलनबाटै सम्भव भएको स्मरण गराउनु भयो । उहाँले आन्दोलनरत पक्षलाई आफ्ना मागहरू वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण ढङ्गले प्रश्तुत गर्न आग्रह गर्नुभयो । नगरमा शान्ति सुरक्षाको अवस्थालाई सामान्य बनाउन र नागरिकहरूबीचको आपसी विश्वास पुनःस्थापित गर्न यो ¥यालीले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।




