निर्वाचन आयोग ‘रेफ्री’ बन्नुपर्छ, ‘खेलाडी’ होइनः वर्षमान पुन | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८३, बुधवार

निर्वाचन आयोग ‘रेफ्री’ बन्नुपर्छ, ‘खेलाडी’ होइनः वर्षमान पुन

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगले आफूलाई ‘रेफ्री’ का रूपमा निष्पक्ष राख्नुपर्नेमा जोड दिनुभएको छ ।बुधवार प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाईका क्रममा आफ्नो धारणा राख्दै पूर्वमन्त्रीसमेत रहनुभएका पुनले आयोग कतिपय अवस्थामा आफैँ ‘खेलाडी’ बन्न खोजेको भन्दै आलोचना गर्नुभयो । सांसद पुनले सूचना प्रविधिको तिब्र विकास र आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगले निर्वाचन प्रणालीमा नयाँ चुनौती थपेको बताउनु भयो । आगामी पाँच वर्षमा निर्वाचनको स्वरूप पूर्णतः परिवर्तन हुने उल्लेख गर्नुभयो । सांसद पुनले निर्वाचनमा प्रविधिको प्रयोग बढाउन र विदेशमा रहेका तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो ।

मतदानको दिन सार्वजनिक यातायात पूर्णरूपमा ठप्प पारिँदा मतदाताको सहभागितामा कमी आएको तर्क गर्दै उहाँले सुरक्षा चुनौतीलाई ख्याल गर्दै यातायात सहज बनाउनुपर्ने सुझाव दिनुभयो । आयोगको स्वायत्तताका विषयमा चर्चा गर्दै सांसद पुनले कानुनको मस्यौदा बनाउँदा आयोगले सरकारको मुख ताक्न नहुने र आफ्नो आवश्यकताअनुसारको प्रश्ताव आफैँले अघि बढाउनुपर्ने बताउनु भयो । राजनीतिक दलहरूको आन्तरिक विवादमा आयोग प्रवेश गर्दा विवादित हुने गरेको बताउनु भयो । निर्वाचन खर्चलाई कम गर्न र सबै उम्मेदवारलाई समान अवसर प्रदान गर्न आयोगले नै साझा डिजिटल प्लेटफर्म निर्माण गर्नुपर्ने उहाँको प्रश्ताव छ । सांसद पुनले मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्र र नागरिकताको डेटाबेससँग एकीकृत गरी मृतक र बसाइँसराइ गरेका व्यक्तिको नाम तत्काल हटाउनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले निर्वाचन आयोगले दलहरूलाई नियन्त्रण गर्नेभन्दा पनि प्रणालीलाई व्यवस्थित र विश्वसनीय बनाउन बढी केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।

Leave a Reply

ताजा समाचार