काठमाडौँ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको छ । श्रेष्ठको पार्थिव शरीरमा काँग्रेस सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने विभिन्न राजनितिक दलका नेता तथा काँग्रेस कार्यकर्ताहरुले पनि श्रद्धाञ्जली दिएका छन् । श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमालेका नेता प्रदीप ज्ञवाली लगायतका नेताले समेत श्रेष्ठलाई काँग्रेस पार्टी कार्यालय पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । ८३ वर्षको उमेरमा मंगलवार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएपछि श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको हो । बुधवार नै उहाँको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने नेपाली काँग्रेसले जनाएको छ । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले दिवंगत श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनका विशेष स्तम्भ भएको बताउनु भयो । श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान इतिहासमा सदैव स्मरणीय रहने उहाँको भनाई छ । श्रेष्ठले सानै उमेरदेखि नेपाली काँग्रेसको नेतृत्वमा भएका सबै लोकतान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेको महामन्त्री घिमिरेले उल्लेख गर्नुभयो । उहाँकाअनुसार २०१७ सालपछि उत्पन्न प्रतिकूल राजनीतिक परिस्थितिमा पार्टीले सञ्चालन गरेका हरेक संघर्षमा श्रेष्ठ निरन्तर सहभागी भई जेल, यातना र दमन सहेर पनि लोकतन्त्रको पक्षमा अडिग रहुनभएको थियो । १२ बुँदे समझदारीमा तत्कालीन सात दल र माओवादीबीच भएको ऐतिहासिक सहमतिका हस्ताक्षरकर्तामध्ये श्रेष्ठ पनि एक भएको महामन्त्री घिमिरेले बताउनु भयो । उहाँकाअनुसार श्रेष्ठले सरकारमा उपप्रधानमन्त्री, पार्टीमा उपसभापति तथा तत्कालीन नेपाली काँग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो । श्रेष्ठ नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै महामन्त्री घिमिरेले पछिल्लो विशेष महाधिवेशनमा उहाँको उपस्थितिले पार्टीलाई ऊर्जा र मार्गदर्शन दिएको बताउनु भयो ।
वि.सं. २००१ मा जन्मिनुभएका श्रेष्ठले विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । श्रेष्ठले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२–०६३ को जनआन्दोलनमा अग्रपंक्तिमा रहेर सहभागिता जनाएको कांग्रेसले जनाएको छ । श्रेष्ठ २०४८, २०५६, २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो भने २०७० सालमा समानुपातिक सांसद बन्नुभएको थियो । २०५१ सालको निर्वाचनमा भने उहाँ पराजित हुनुभयो । पटक पटक मन्त्री बन्नुभएका उहाँ लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेल समेत पर्नुभएको थियो । लामो समय नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट रहुनभएका श्रेष्ठ काँग्रेसको विशेष महाविधेशनमा सहभागी भएर गगन थापा निकट हुनुभएको थियो । उहाँले काँग्रेस विभाजनपछि लामो समय नेपाली काँग्रेस (प्रजातान्त्रिक) को कार्यवाहक सभापतिको जिम्मेवारी समेत समाल्नुभएको थियो ।
तीन दिन पार्टीको झण्डा आधा झुकाईने
नेपाली काँग्रेसको श्रेष्ठको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।बुधवार बसेको आकस्मिक केन्द्रिय समितिको बैठकले साउन १३, १४ र १५ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला समितिका कार्यलयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । यस्तै साउन १४ गते विहीवार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यलयहरु बन्द गर्ने र १३ औँ दिनको पुण्य तिथिमा श्रेष्ठको गृहजिल्ला स्याङ्जामा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ




