भारतको असममा बाढीको वितण्डाः ६२ जनाको मृत्यु, ११ लाखभन्दा बढी प्रभावित | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

भारतको असममा बाढीको वितण्डाः ६२ जनाको मृत्यु, ११ लाखभन्दा बढी प्रभावित

भारतको उत्तरपूर्वी राज्य असममा जारी विनाशकारी बाढीका कारण हालसम्म ६२ जनाको मृत्यु भएको छ भने अन्य आठ जना बेपत्ता भएका छन् । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माका अनुसार बाढीबाट राज्यका ११ लाखभन्दा बढी नागरिक प्रभावित भएका छन् । हाल राज्यका २५ जिल्लाहरू बाढीको चपेटामा परेका छन् र स्थिति अझै गम्भीर बनेको छ । मुख्यमन्त्री शर्माले दिएको जानकारीअनुसार २ हजार १०० भन्दा बढी गाउँहरू जलमग्न भएका छन् । बाढी प्रभावित क्षेत्रका ११ लाखभन्दा बढी मानिसहरूको जनजीवन अस्तव्यस्त बनेको छ । उद्धार र राहत कार्यका लागि स्थानीय प्रशासनले प्रभावित जिल्लाहरूमा १७० वटा राहत शिविर र १ हजार ३०४ वटा राहत वितरण केन्द्रहरू स्थापना गरेको छ । ती शिविरहरूमा हाल ४५ हजार ४ जनाले आश्रय लिइरहेका छन् भने उनीहरूलाई खाद्य सामग्री र अन्य आवश्यक सुविधा उपलब्ध गराइएको अधिकारीहरूले बताएका छन्। प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप तिब्र पारिएको छ ।
केन्द्रिय जल आयोगका अनुसार व्रह्मपुत्र नदी र यसका विभिन्न सहायक नदीहरूमा पानीको बहाव खतराको सतहभन्दा माथि पुगेको छ । यसैगरी, असम राज्य विपद् व्यवस्थापन प्राधिकरणले बाढीका कारण ५६ हजार ६०६ हेक्टर जमिनमा लगाइएको बाली पूर्ण रूपमा डुबानमा परेको जनाएको छ । असममा मनसुनको समयमा वर्षेनी बाढी र डुबानको समस्या निम्तिने गरेको छ, जसले ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ ।

Leave a Reply