पूर्वी इण्डोनेसियाको तोमिनी खाडीमा बेपत्ता भएको एक स्पिडबोटमा सवार ११ जना युरोपेली पर्यटक र एक चालक दलका सदस्यको सकुशल उद्धार गरिएको छ । शनिवार अधिकारीहरूले दिएको जानकारीअनुसार उनीहरूलाई गोरोन्तालो प्रान्तको समुद्री क्षेत्रबाट फेला पारिएको हो । गोरोन्तालो खोज तथा उद्धार कार्यालयका प्रमुख हेरियान्तोले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार संयुक्त खोज तथा उद्धार टोलीले उनीहरूलाई तोमिनी खाडीबाट उद्धार गरी मध्य सुलावेसीको तोजो उना–उना रिजेन्सी पु¥याएको छ । सो दुर्घटनामा स्पिडबोटका क्याप्टेन भने अझै बेपत्ता रहेका छन् । उनको खोजीका लागि खोजतलास कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन् । उक्त स्पिडबोट शुक्रबार बिहान मध्य सुलावेसीको एक डाइभ रिसोर्टबाट गोरोन्तालोस्थित बन्दरगाहका लागि प्रस्थान गरेको थियो। तोकिएको समयमा गन्तव्यमा नपुगेपछि उक्त डुङ्गा बेपत्ता भएको भन्दै खोजी कार्य शुरु गरिएको थियो ।




