काठमाडौं, ११ फागुन । विषादीयुक्त भारतीय तरकारी आयात नियन्त्रण गर्न सरकारले सातै प्रदेशका नाकामा अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने भएको छ ।
समाचारमा लेखिएको छ, वाणिज्य मन्त्रालयमा बिहीबार बसेको सरोकारवाला मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो । अन्नपूर्ण पोस्ट्ले फागुन ६ गते ‘खुलेआम भित्रिन्छ विषयुक्त तरकारी’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। वाणिज्य मन्त्रालयले तरकारीको गुणस्तरलाई ध्यानमा दिँदै सचिव चन्द्रकुमार घिमिरेको अध्यक्षतामा बिहीबार सरोकारवाला निकायसहितको बैठक राखेको थियो।
‘ज्यानै जाने गरी उच्च विषादीयुक्त तरकारी खुलेआम नेपाल भित्रिन्छ शीर्षको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको वाणिज्य सचिव घिमिरेले बताए।’ उनले भने, ‘विषादी र आर्सेनिकयुक्त तरकारी, फलफूल तथा खाद्यान्नसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न समाचारलाई आधार बनाएर सरोकारवाला मन्त्रालयसहित बैठक बसेर महत्वपूर्ण निर्णय गरेका छौं। निर्णय तत्कालै कार्यान्वयनमा ल्याउन म प्रतिबद्ध छु।’
बैठकमा अर्थ र कृषि विकास मन्त्रालय, भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारी सहभागी थिए। बैठकले भारतलगायत तेस्रो मुलुकबाट आयात हुने विषादी तथा आर्सेनिकयुक्त तरकारी, फलफूल, खाद्यान्न बीउबिजन, पशुपक्षीको गुणस्तर परीक्षण तथा नियमन गर्न सातवटै प्रदेशमा अत्याधुनिक प्रयोगशाला निर्माण गर्नेलगायत चारबुँदे निर्णय गरेको हो।
सकेसम्म नाका नजिकै र नभए सुविधा भएको स्थानमा यस्ता प्रयोगशाला निर्माण गर्ने निर्णय गरिएको छ। नाकामा प्रयोगशाला तोक्दा वा निर्माण गर्दा अत्यावश्यक भौतिक पूर्वाधार, जनशक्ति र परीक्षणमा लाग्ने समयलाई ध्यानमा राखेर प्रविधियुक्त नाकाको व्यवस्था गर्ने जिम्मेवारी कृषि विकास र पशुपक्षी मन्त्रालयलाई दिइएको छ। समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।