दक्षिण कोरियाको बुसानमा युनेस्को विश्व सम्पदा समितिको ४८ औँ महासभा शुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

दक्षिण कोरियाको बुसानमा युनेस्को विश्व सम्पदा समितिको ४८ औँ महासभा शुरु

दक्षिण कोरियाको बुसान शहरमा आईतवारदेखि युनेस्को विश्व सम्पदा समितिको ४८ औँ महासभा शुरु भएको छ । नयाँ विश्व सम्पदाहरूको मनोनयन तथा सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरूको संरक्षणका विषयमा छलफल गर्न आयोजित यस सत्रमा विश्वभरका करिव ३ हजार प्रतिनिधिको सहभागिता रहेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै युनेस्कोका महानिर्देशक खालेद एल–एनानीले विश्व सम्पदा विगतको विरासत मात्र नभई वर्तमानका लागि प्रेरणाको जीवन्त स्रोत भएको बताउनु भयो । यस सत्रलाई एकताको महत्त्वपूर्ण क्षणका रूपमा चित्रण गर्दै उहाँले साझा चुनौतीहरूको सामना गर्न र मानवताको साझा सम्पदाको रक्षाका लागि सदस्य राष्ट्रहरूलाई एकजुट भएर काम गर्न आह्वान गर्नुभयो । यसैगरी, दक्षिण कोरियाली राष्ट्रपति ली जे म्योङले विश्व सम्पदाले राष्ट्रिय सीमा र पुस्तालाई जोड्ने उल्लेख गर्दै यसलाई मानवताको साझा मूल्य र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सहयोगको आधार स्तम्भका रूपमा परिभाषित गर्नुभयो । बढ्दो द्वन्द्व र विभाजनको वर्तमान समयमा सांस्कृतिक संवादको महत्व झन् बढेको चर्चा गर्दै राष्ट्रपति लीले भन्नुभयो, ‘विश्वसँगको ऐक्यवद्धतामा हामी मानवताको शान्तिपूर्ण र समृद्ध भविष्य निर्माणका लागि युनेस्कोसँग मिलेर काम गर्नेछौँ ।’
यस बैठकले विश्व सम्पदा सूचीमा समावेश हुनका लागि आएका ३० वटा नयाँ मनोनयनहरू, मौजुदा सम्पदाहरूको परिमार्जनसम्बन्धी ३ वटा प्रश्ताव र सूचीमा सूचीकृत भइसकेका १४७ वटा सम्पदाहरूको संरक्षण अवस्थाबारे विस्तृत समीक्षा गर्नेछ । बैठकमा विभिन्न सदस्य राष्ट्रका प्रतिनिधि, पर्यवेक्षक संस्था, गैरसरकारी संस्था र प्राज्ञिक क्षेत्रका विज्ञहरूले विश्व सम्पदा महासन्धिको कार्यान्वयन, सम्पदाहरूको व्यवस्थापन र संरक्षणका विविध पक्षमा छलफल गर्ने कार्यक्रम रहेको छ। हाल विश्वभर ९७२ सांस्कृतिक, २३५ प्राकृतिक र ४१ मिश्रित गरी कूल १,२४८ वटा विश्व सम्पदाहरू रहेका छन् ।

Leave a Reply

ताजा समाचार