दक्षिण कोरियाली शेयर बजारमा तिब्र गिरावटः ‘साइडकार’ संयन्त्र सक्रिय, सूचक ५ प्रतिशतभन्दा बढीले ओर्लियो | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

दक्षिण कोरियाली शेयर बजारमा तिब्र गिरावटः ‘साइडकार’ संयन्त्र सक्रिय, सूचक ५ प्रतिशतभन्दा बढीले ओर्लियो

दक्षिण कोरियाली शेयर बजारमा बुधवार तिब्र गिरावट आएको छ । बजारमा देखिएको अत्यधिक उतारचढावलाई नियन्त्रण गर्न मुख्य र प्रविधि केन्द्रित दुवै बजारमा शेयर बिक्रीमा प्रतिवन्ध लगाउने ‘साइडकार’ संयन्त्र सक्रिय बनाइए पनि परिसूचक ५ प्रतिशतभन्दा बढीले घटेको छ । बुधवारको कारोबार बन्द हुँदा मुख्य बेन्चमार्क परिसूचक ‘कोरिया कम्पोजिट स्टक प्राइस इन्डेक्स’ ५.३५ प्रतिशत अर्थात् ४०९.५२ अङ्कले घटेर ७,२४६.७९ को बिन्दुमा कायम भएको छ । त्यसैगरी, प्रविधि क्षेत्रको बाहुल्यता रहेको कोस्डाक ५.५६ प्रतिशत अर्थात् ४६.२३ अङ्कले गिरावट भई ७८५.०० को बिन्दुमा खुम्चिएको छ । योनहाप समाचार एजेन्सीका अनुसार, गत वर्ष सेप्टेम्बर ४ पछि पहिलोपटक कारोबारको क्रममा कोस्डाक ८०० को बिन्दुभन्दा तल झरेको हो
कोरिया एक्सचेन्जकाअनुसार बजारमा उच्च अस्थिरता देखिएपछि स्थानीय समयअनुसार दिउँसो १ः३१ बजे मुख्य बजारमा र १ः३३ बजे कोस्डाक बजारमा ‘साइडकार’ संयन्त्र लागू गरिएको थियो । यस प्रक्रियामार्फत ‘प्रोग्राम सेल अर्डर’को कार्यान्वयनलाई अस्थायी रूपमा निलम्बन गरी बजारलाई थप घट्नबाट जोगाउने प्रयास गरिएको थियो । बजारको यो स्थितिलाई दृष्टिगत गर्दै दक्षिण कोरियाली अर्थमन्त्री कु युन–चोलले बैंक अफ कोरिया र वित्तीय नियामक निकायका अधिकारीहरूसँग आकस्मिक बैठक डाकेका छन् । बैठकमा वर्तमान बजारको अवस्था र सम्भावित नीतिगत प्रतिक्रियाका बारेमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
छलफलका क्रममा सहभागीहरूले विश्वव्यापी नीतिगत ब्याजदरमा हुनसक्ने वृद्धि र विदेशी पुँजी बाहिरिने अपेक्षाका कारण वित्तीय तथा वैदेशिक विनिमय बजारमा उतारचढाव बढेको बताएका छन् । अधिकारीहरूकाअनुसार विदेशी र संस्थागत लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न शेयर बिक्री बढाउनु र विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा देखिएको बदलिँदो दृष्टिकोणले पनि बजारलाई प्रभावित पारेको हो । शेयर बजारमा सेमिकन्डक्टर क्षेत्रको मात्रै ठूलो हिस्सा हुनुले जोखिम बढाएको ठहर गर्दै सरकारले आगामी दिनमा बायो, रक्षा र एयरोस्पेस जस्ता गैर–सूचना प्रविधि क्षेत्रका नयाँ विकासका स्रोतहरूलाई सक्रिय रूपमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । साथै, बजारमा देखिन सक्ने अत्यधिक उतारचढाव र जोखिमका कारकहरूको निरन्तर अनुगमन गर्ने प्रतिवद्धता समेत अधिकारीहरूले व्यक्त गरेका छन् ।

Leave a Reply

ताजा समाचार