आन्तरिक रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामाः श्रममन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

आन्तरिक रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामाः श्रममन्त्री यादव

काठमाडौं ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकताको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारको ध्यान नेपालमा नै मर्यादित रोजगारी सिर्जना गर्नुमा केन्द्रित रहेको बताउनुभएको हो । यसका लागि श्रम क्षेत्रको नियमन र रोजगार प्रवद्र्धनका कार्यक्रमलाई तिब्र बनाएको उहाँले जानकारी दिनुभयो । श्रम अधिकार, मर्यादित काम र श्रमिक सुरक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न श्रम निरीक्षणलाई रणनीतिक प्राथमिकता दिएको उहाँले बताउनु भयो ।

उहाँकाअनुसार पछिल्लो १०० दिनमा १ हजार ३ सय २१ प्रतिष्ठानमा श्रम निरीक्षण सम्पन्न गरिएको छ । श्रमिकका उजुरी, निवेदन तथा निरीक्षणका क्रममा श्रम शोषणसम्बन्धी कारबाहीबाट जरिवाना र सहमतिबापत ४ करोड ४० लाख ९६ हजार २०५ रुपैयाँ असुल गरिएको उहाँले जानकारी दिनुभयो । श्रम निरीक्षणको दर ६० प्रतिशतले वृद्धि भएको उहाँले बताउनु भयो । श्रम क्षेत्रको नियमनमा कारबाहीसँगै प्रोत्साहनको नीति पनि अपनाइएको उहाँको भनाई छ । यससँगै राष्ट्रिय रोजगार नीति–२०७१ लाई समयानुकूल बनाउने उद्देश्यले राष्ट्रिय रोजगार नीति–२०८३ को मस्यौदा तयार गर्ने काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । साथै, नेपालमै पहिलो पटक केयर इकोनोमी नीति निर्माण प्रक्रिया सुरु गरिएको बताउनु भयो ।

उहाँले वैदेशिक रोजगारीलाई पनि मर्यादित बनाउन सरकारले काम गरिरहेको बताउनु भयो । उहाँकाअनुसार वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाहरु धमाधम फस्र्यौट भइरहेका छन् । उहाँले पछिल्लो तीन महिनामा १ हजार ४ वटा संस्थागत तथा व्यक्तिगत उजुरीमाथी कारबाही गरि ३० करोड ७ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराइएको जानकारी दिनुभयो । उहाँकाअनुसार चालु आर्थिक वर्षको साउनदेखी चैतसम्म ८ सय ८२ वटा मुद्दा फस्र्यौट हुँदा १२ करोड ६७ लाख रुपैयाँ क्षतिपुर्ती भराईएको थियो । पछिल्लो ३ महिनाको अवधीमा मुद्दा अनुसन्धान र फस्र्यौट दर २ सय ४१ प्रतिशत र पीडितले क्षतिपुर्ती प्राप्त गर्ने दर ६ सय ७२ प्रतिशतले बढेको उहाँले जानकारी दिनुभयो । नेपालमै नेपाली युवाका लागि मर्यादित रोजगारीका अवसर सिर्जना गर्नु र वैदेशिक रोजगारीलाई सुरक्षित तथा सम्मानजनक बनाउनु सरकारको साझा प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि मन्त्रालयले युद्धस्तरमा काम गरिरहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार