काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले चुनौती र अवरोधहरूलाई चिर्दै आफ्ना उद्देश्य प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने बताउनुभएको छ ।ललितपुरमा शनिवार आयोजित ‘नेकपा एमाले पार्टी जागरण अभियान’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले नेपाली समाजको जागरण र रूपान्तरणमा पार्टीले असाधारण र अद्वितीय भुमिका निर्वाह गरेको दाबी गर्नुभयो । जनतालाई परिवर्तनको वास्तविक अर्थ बुझाउन र मुलुकलाई सही दिशामा नेतृत्व गर्न एमाले सफल भएको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले पार्टीले विगतदेखि नै विभिन्न किसिमका प्रहार, आक्रमण र कुप्रचारहरू झेल्दै आएको स्मरण गर्नुभयो । राजनीतिक आन्दोलनलाई नदीको बहावसँग तुलना गर्दै उहाँले परिवर्तनको अभियान सधैँ सोझो र सहज मार्गबाट मात्र अघि नबढ्ने उल्लेख गर्नुभयो । नदीले विभिन्न घुम्ती र अवरोधहरू छिचोल्दै आफ्नो मार्ग तय गरेझैँ राजनीतिक आन्दोलनले पनि अनेकौँ मोडहरू पार गर्नुपर्ने उहाँले बताउनु भयो । पार्टीले अहिले केही गम्भीर धक्का र चुनौतीहरू सामना गर्नुपरिरहेको स्वीकार गर्दै अध्यक्ष ओलीले यस्ता परिस्थितिबाट विचलित नभई अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो ।





