प्रतिनिधि सभामा ‘सहकारी पहिलो संशोधन विधेयक २०८३’ पेश | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

प्रतिनिधि सभामा ‘सहकारी पहिलो संशोधन विधेयक २०८३’ पेश

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक २०८३’ प्रतिनिधि सभामा प्रश्तुत गर्नुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा सभामुखको अनुमतिपश्चात मन्त्री रावलले उक्त विधेयक सदनसमक्ष पेश गर्नुभएको हो । विधेयक प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनैपनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएपछि विधेयक पेस गर्ने प्रक्रिया अघि बढेको थियो । विधेयकका उद्देश्य र आवश्यकतामाथि प्रकाश पार्दै मन्त्री रावलले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी संस्थाहरूले अब राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट अनिवार्य रूपमा सञ्चालन इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । प्रश्तावित विधेयकमा सबै सहकारी संस्थाहरूले वार्षिक रूपमा दर्ता अधिकारीबाट संस्थाको विवरण अद्यावधिक गर्नुपर्ने प्रावधान समेत समेटिएको छ ।
मन्त्री रावलकाअनुसार सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्राधिकरण र रजिस्ट्रारबीचको कार्यक्षेत्रगत जिम्मेवारीलाई थप स्पष्ट पारिएको छ । सहकारीको सम्पत्ति दुरुपयोग र अपचलन गर्ने जोसुकैलाई कानूनी कारबाहीको दायरामा ल्याई साना बचतकर्ताको बचत फिर्ता गर्ने कार्यलाई प्राथमिकता दिइने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘समस्याग्रस्त सहकारी संस्थाको सम्पती व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन यो संशोधन आवश्यक देखिएको हो ।’
नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८३ असार ५ गते स्वीकृत भएको यो प्रतिस्थापन विधेयकले ऋण असुली प्रक्रियालाई तिब्रता दिने र सहकारी क्षेत्रमा सुशासन कायम गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

ताजा समाचार