काठमाडौं ।
नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले धनकुटाका किसानले खेतीको समयमा रासायनिक मल नपाएको भन्दै सरकारको आलोचना गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद राईले मल अभावका कारण धनकुटाका किसानहरू सरकारसँग निकै रुष्ट रहेको बताउनुभएको हो । सांसद राईले धनकुटाका ७ वटा स्थानीय तहका किसानहरू अहिले धान रोप्ने र मकै गोड्ने तयारीमा रहे पनि मल नपाउँदा समस्यामा परेको उल्लेख गर्नुभयो । उहाँले सदनको शुन्य र आकस्मिक समयमा पटक–पटक उठाइएका प्रश्नहरूको सरकारले वास्ता नगरेको आरोप लगाउनु भयो ।
सांसद राईले ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गतको बजेट निकासा नहुँदा गरिब जनता मर्कामा परेको विषय समेत उठाउनु भयो । विगतको सरकारले ल्याएको खरको छाना विस्थापित गरी जस्तापाता (टिन) लगाउने योजनाअनुसार सर्वसाधारणले घर बनाए पनि सरकारले दिने भनिएको रकम हालसम्म उपलब्ध नगराएको उहाँको गुनासो थियो । विगतको योजनाअनुसार जनताले धमाधम खरको छाना हटाइसकेका छन्, तर टिनको छाना लगाउनका लागि दिने भनिएको पैसा खोइ ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।




