चितवन, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली नै पाँच वर्षसम्म प्रधानमन्त्री हुने सहमति भएको स्पष्ट पारेका छन् ।
अध्यक्ष दाहालले दुई पार्टीबीच एकता भईसकेको दावी गर्दै निर्वाचन आयोगमा दर्ता गरेपछि मात्रै त्यसले बैधानिकता पाउने बताए । पार्टी एकीकरण गर्ने आधारमा सहमति गरेकै भोलिपल्ट मंगलबार गृहजिल्ला चितवन पुगेका उनले स्थानीय संचारकर्मीमाझ एक हप्ता भित्र दुवै पार्टीको केन्द्रिय कार्य समिति भंगगरी नयाँ कार्यसमिति गठन गर्ने सहमति भएको जानकारी दिए ।
अध्यक्ष प्रचण्डले पार्टी महाधिवेशन नभएसम्म पार्टीको अध्यक्षता ओली र आफूले आलोपालो गरी गर्ने प्रणाली अवलम्बन हुने बताए । उनले अन्तराष्ट्रिय रुपमा स्थापित मान्यता तथा पार्टी एकताको आवश्यक्ता, चाहना र दुवै पार्टीका कार्यकर्ताको भावना अनुसार एकीकृत पार्टीको अध्यक्षता आलोपालो प्रणालीबाट गर्ने निर्णय लिइएको बताए ।
सोमबार साँझ एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने ७ बुँदे आधारमा एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने उल्लेख गरिएको छ । पार्टीको विधान र संगठनात्मक संरचनाका विषयमा सहमति भएपछि २ पार्टीबीच एकताको औपचारिक घोषणा गरिनेछ ।