प्रधानमन्त्रीको स्पष्टीकरण नआएसम्म संसदको गतिरोध अन्त्य हुँदैनः एमाले | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

प्रधानमन्त्रीको स्पष्टीकरण नआएसम्म संसदको गतिरोध अन्त्य हुँदैनः एमाले

काठमाडौँ ।

प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले जिम्मेवारपूर्ण भुमिका खेल्नुपर्ने माग गरेको छ ।
संसद भवन परिसरमा सोमवार एमाले सांसद गुरु बरालले प्रधानमन्त्रीले दिनुभएको विवादास्पद अभिव्यक्तिको सम्बन्धमा संसद्मा उपस्थित भएर चित्तबुझ्दो जवाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट पार्नुभएको हो । सांसद बरालकाअनुसार प्रतिपक्षले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कि त पुष्टि हुनुपर्ने कि त सच्चाइनुपर्ने मागलाई आफ्नो मुख्य शर्त बनाएको छ । संसदको समय बहुमूल्य रहेको र विनियोजन विधेयकका विभिन्न विषयमा छलफल गर्नुपर्ने जिम्मेवारीप्रति प्रतिपक्ष सचेत रहेको उल्लेख गर्दै उहाँले देशको सीमाना र राष्ट्रियतासँग जोडिएका गम्भीर विषयमा सरकार मौन बस्न नहुने बताउनु भयो । परराष्ट्रमन्त्री र अन्य दलका नेताहरू विदेश भ्रमणबाट फर्किसक्दा समेत प्रधानमन्त्रीले आफ्नो भूल स्वीकार नगरेको वा अभिव्यक्तिको पुष्टि नगरेका कारण संसद् अवरुद्ध हुन पुगेको उहाँको तर्क छ । बिहान बसेको सर्वदलीय बैठक र प्रमुख सचेतकहरूको संयुक्त बैठकमा समेत एमालेले सोही धारणा राखेको उहाँले जानकारी दिनुभयो ।

सत्तापक्षले प्रतिपक्षका कारण जनताका मुद्दा ओझेलमा परेको भनी लगाएको आरोपको खण्डन गर्दै बरालले सरकार आफैँ गैरजिम्मेवार बनेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराएर निकास दिनुको साटो प्रतिपक्षलाई आरोपित गर्नु सरकारको लाचारी भएको उहाँको भनाइ छ । प्रधानमन्त्रीले संसद्मा आएर जवाफ नदिएसम्म सदनको गतिरोध कायमै रहने संकेत उहाँले गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार