अमेरिकी सेनाको मध्य कमान्ड (सेन्ट्रल कमान्ड) ले गत सप्ताहन्तमा इरानका विभिन्न सैन्य ठेगानाहरूमा ‘आत्मरक्षात्मक आक्रमण’ गरिएको जानकारी दिएको छ । इरानको राडार केन्द्र, कमान्ड एन्ड कन्ट्रोल साइट र ड्रोन सञ्चालन केन्द्रहरूलाई लक्षित गरी उक्त कारबाही गरिएको अमेरिकी पक्षले जनाएको छ । सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिअनुसार शनिवार र आईतवार गरिएका यी आक्रमणहरू इरानी पक्षको ‘आक्रामक गतिविधि’ विरुद्धको जवाफ हो । अन्तर्राष्ट्रिय जलक्षेत्रमा उडान भइरहेको अमेरिकी एमक्यू–१ ड्रोनलाई इरानी पक्षले खसालेपछि अमेरिकाले यो कदम चालेको हो । अमेरिकी लडाकु विमानहरूले इरानी वायु रक्षा प्रणाली, एउटा ग्राउन्ड कन्ट्रोल स्टेसन र क्षेत्रीय जलक्षेत्रमा आवतजावत गर्ने जहाजहरूका लागि खतरा मानिएका दुईवटा आत्मघाती ड्रोनहरूलाई नष्ट गरेको अमेरिकी सेनाले दाबी गरेको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेसँगै सुरु भएको यस द्वन्द्वलाई औपचारिक रूपमा अन्त्य गर्न दुवै पक्ष हाल समझदारी पत्रलाई अन्तिम रूप दिने प्रक्रियामा रहेको बताइएको छ । दुई देशबीच गत अप्रिल ८ मा अस्थायी युद्धविराम भएको थियो । हाल पाकिस्तानको मध्यस्थतामा द्वन्द्व समाधानका लागि विभिन्न शर्तहरू सहितका प्रस्तावहरू आदानप्रदान भइरहेका छन् ।





