बजेटले लिएका नीति कार्यान्वयन गर्नेगरी मौद्रिक नीति आउँछः प्रवक्ता पौडेल | ईमाउण्टेन समाचार

Our Network

जेठ १७ २०८३, सोमबार

बजेटले लिएका नीति कार्यान्वयन गर्नेगरी मौद्रिक नीति आउँछः प्रवक्ता पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिका लागि आवश्यक पर्ने तरलता व्यवस्थापन र ६ प्रतिशतभित्र मुद्रास्फिती राख्ने गरी राष्ट्र बैंकले नीतिहरू तर्जुमा गर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमवार आयोजना गरेको कार्यक्रममा  उहाँले अहिलेको असाधारण परिस्थितिलाई सम्बोधन गर्नका लागि महत्वकांक्षी बजेट ल्याउन सरकारलाई दबाब र आवश्यकता रहेको बताउनु भयो । उहाँले बजेटमा सुशासनलाई, डिजिटाइजेसनलाई र विद्युतीकरणलाई प्राथमिकता दिएर प्रशासन क्षेत्रलाई अगाडि बढाउन खोजिएकाले आर्थिक वृद्धिको सिनर्जी आउन सक्ने बताउनु भयो । उहाँले केही कुरालाई राष्ट्र बैंकले विगतदेखि चालेका कदमलाई अझ बढी प्रभावकारी तरिकाले अगाडि बढाउनलाई बजेटले राष्ट्र बैंकलाई निर्देश गरेको समेत बतानु भयो ।
पौडेलले भन्नुभयो–‘यदि कुनै असामान्य परिस्थिति सिर्जना भएन र आपूर्ति श्रृंखलामा हाम्रो नियन्त्रणभन्दा बाहिरका अवरोधहरू उत्पन्न भएनन् भने आर्थिक अवस्था स्थिर रहने अपेक्षा गरिएको छ । मैले संकेत गर्न खोजेको मध्यपूर्वमा देखिएको द्वन्द्वको अवस्था तथा अन्तर्राष्ट्रिय जगतमा देखापरेका विभिन्न प्रकारका तनाव र विभाजनजस्ता विषयहरू हुन् । यस्ता बाह्य परिस्थितिहरूसँग समयानुकूल रूपमा समायोजन गर्न सकियो भने नेपाल राष्ट्र बैंकले बजेटले निर्देशित गरेको ६ प्रतिशतसम्मको आर्थिक वृद्धिदरलाई आधार मानेर मौद्रिक नीति सञ्चालन गर्न सक्नेछ । बजेटले नै राष्ट्र बैंकलाई ६ प्रतिशतसम्मको आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी मौद्रिक नीति निर्माण गर्न दिशा–निर्देश गरेको छ । वर्तमान परिस्थितिलाई हेर्दा राष्ट्र बैंकले अवलम्वन गरेका नीतिहरू उपयुक्त दिशामा रहेको देखिन्छ । हामीले चैत महिनामा देशको वर्तमान आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गरिसकेका छौं र वैशाख महिनाको प्रतिवेदन पनि तयारीको चरणमा छ । चैत महिनाको तथ्यांकलाई हेर्दा मुद्रास्फीति दर ४.४७ प्रतिशत रहेको देखिन्छ । यद्यपि चालु आर्थिक वर्षको नौ महिनासम्मको औसत मुद्रास्फीतिलाई हेर्दा आधार प्रभावका कारण यो दर करिब २.३ प्रतिशतको हाराहारीमा सीमित रहने देखिएको छ । त्यसैले, मैले उल्लेख गरेझैं कुनै असामान्य परिस्थिति सिर्जना नभएसम्म मुद्रास्फीतिलाई ६ प्रतिशतभित्र कायम राख्न नेपाल राष्ट्र बैंक पूर्ण रूपमा सजग रहनेछ । सोही लक्ष्यअनुसार राष्ट्र बैंकले आफ्ना मौद्रिक नीतिका विभिन्न उपकरणहरू आवश्यकताअनुसार परिचालन गर्नेछ र मूल्य स्थायित्व कायम राख्ने दिशामा अग्रसर रहनेछ ।’
उहाँकाअनुसार फिनटेक मार्केटप्लेसको अवधारणालाई पनि बजेटले सम्बोधन गरेको छ ।  यसमा राष्ट्र बैंकले पनि काम गरिरहेको भन्दै उनले बजेटमा नै यो विषय आउँदा झनै छिटो काम हुने विश्वास व्यक्त गर्नुभयो ।  पौडेलले उपभोगमा वृद्धि ल्याउनका लागि हायर पर्चेजमा विभिन्न उपभोग्य सामान खरिदमा ऋण लिन मिल्ने व्यवस्था बजेटले गर्न खोजेको उल्लेख गर्नुभयो ।

Leave a Reply

ताजा समाचार